सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोगमा सिन्धुलीका ४१ वटा मानवअधिकार उलंघनका उजुरी रहेको आयोगका प्रदेश नंं ३ का निर्देशक यज्ञ प्रसाद अधिकारीले बताए । उनले जिल्लामा रहेका पत्रकारहरु, तथा नागरिक समाजसँग जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन ।

पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुसँगको छलफलमा अधिकारीले आयोगको प्रदेश नं. ३ मा मात्रै मानवअधिकार उलंघनका ८०७ वटा उजुरी परेको बताए । ती सबै उजुरीको छिट्टै अनुगमन, अनुसन्धान गरि टुंगोमा पुग्ने उनले बताएका छन ।
उनका अनुसार आयोगले २ वर्ष भित्र सबै उजुरीहरुको छानविन गरि सिफारिस गर्ने गरि अनुसन्धानमा लागेको बताए । घटनाको छानविनका साथै जिल्लाको मानवअधिकारका सवालमा छलफल, अभिमुखीकरण र अवस्था अध्ययनका लागि सिन्धुलीमा आएको टोलीले जिल्लाका विभिन्न निकायहरुसँग भेटिरहेको छ ।
छलफलका क्रममा जिल्लाका पत्रकार तथा नागरिक समाजले प्राकृतिक दोहन बढेको, स्थानीय सरकारका विकासमा बाटो खोल्ने र डोजर लगाउने काम प्राथमिकतामा परेको, न्यायीक समितिहरुमा मुद्दा बढेको तर न्याय सम्पादनमा अन्यौलता रहेको, विकासमा सामाजिक सुरक्षाका मुद्दाहरु समावेश हुन नसकेको लगाएतका विषयहरु उठाएका थिए । यस्तै कारागारका कैदी बन्दीको व्यवस्थापन, महिला र बालबालिकाको सुरक्षा र पुनःस्र्थापना लगाएतका सबालहरुमा ध्यान दिन सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्ले, नेपाल वार यशोसियसन जिल्ला बार इकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राई, इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डे, पत्रकार महासंघका सचिव विदुर पौडेल, पत्रकार अनिल भण्डारी लगाएतले जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा स्पष्ट पारेका थिए ।
यसैबीच मानवअधिकार आयोग प्रदेश कार्यालयले मंगलबार घ्याङलेख गाउँपालिका र बैशाख २६ गते मरिण गाउँपालिकाका जनप्रतिनिधिहरुसँग विकास र मानवअधिकार सम्बन्धि तालिम दिने निर्देशक अधिकारीले जानकारी दिएका छन ।



















