सिन्धुली । सुनका गहना बनाउने कालीगढको कोठाबाट सुन डकैति गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ । चैत ६ गते होलीको दिन दिउँसै हतियार देखाई कनपा ६ को स्टलबजारमा रहेको भारत पश्चिम बंगालका सुरजित सरकारको डेराबाट ६१ तोला सुन तथा सुनका गहना डकैंति गरेको आरोपमा पक्राउ भएका ५ जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । अन्य तीन जना अभियुक्तलाई पक्राउ गर्न नसकिएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।
प्रहरीले घटनाका मुख्य योजनाकार कनपा ५ देउरालीका २५ वर्षिय विनोद कुमार दियाली, कनपा ५ कै २१ व्र्षिय बुद्ध दियाली, सोहि ठाउँकै १८ वर्षिय प्रदीप दियाली, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नंं २ ज्योतिटोल घर भई कनपा ६ को सगरमाथा सुनचाँदी पसलमा कालीगढको काम गर्ने २१ व्र्षिय सुनिल बराईली र कनपा ७ ठूलीटार बस्ने ३४ वर्षिय हरि खत्रीलाई पक्राउ गरिएको जनाएको छ ।
अभियुक्त मध्ये विनोद कुमार, बुद्ध, तथा प्रदीप दियालीलाई बैशाख ५ गते, सुनिल बराईलीलाई बैशाख ७ गते र हरि खत्रीलाई बैशाख ८ गते पक्राउ गरिएको सिंहले बताए ।
अनुसन्धान भईरहेको र घटनाको अन्तिम निश्कर्षमा पुगेको जनाएको प्रहरीले लुटिएको सुन तथा डकैंतिमा प्रयोग गरिएको पेस्तोल र खुकुरी भने बरामद गर्न सकेको छैन । जिल्लाका १६ वटा सुन पसलको अडरको गहनाहरु ५२ तोला र सुनको बुट्टा ९ तोला डकैति भएको भनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी परेको छ । जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको एसपी सिंहले बताए । उनका अनुसार ‘डकैति गर्दा खुकुरी तथा नक्कली पेस्तोल देखाईएको भए पनि त्यो बरामद हुन सकेको छैन ।’
घटनाका मुख्य अभियुक्त भनिएका विनोद कुमार दियालीले २ वटा औंठी मासि खाएको स्वीकार गरेको भए पनि अन्य सुन तथा सुनका गहना फरार व्यक्तिहरुले लगेको अनुसन्धानमा खुलेको एसपी सिंहले बताए ।
उनका अनुसार तीन जना भन्दा बढी व्यक्तिले हतियार देखाएर वा कुनै प्रलोभन वा दवावमा पारेर लुटपाट गरेमा डकैति हुने हुदा अभियोग प्रमाणित भएमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार देखि १ लाख ४० हजार सम्म जरिवाना हुन सक्ने उनले बताए । पक्राउ परेका ५ जनाले घटनामा संलग्न रहेको स्वीकार गरिसकेको उनले जानकारी दिए ।





















