विश्वम्भर लामिछाने, अग्लो, मोटो शरिर दाह्री फुलेका, लामो फित्ता भएको झोला बोक्ने र दैनिक सदरमुकाम सिन्धुलीमाढीमा रहेको जिल्ला अदालत धाउने वकिल । उनको नाम र परिचय यतिमात्र हैन जिल्लामा । उनी त रुखका जरालाई ताछ्ने मिलाउने, रंगरोगन गर्ने र कलामा परिवर्तन गर्ने कलाकार समेत हुन । उमेरले ५० नाघेका उनी फुर्सदको समय रुखका जरा खोज्छन, मिलाउँछन र आकृति बनाउँछन ।
उनले यसो गर्न थालेको २०४८ सालदेखि हो । वि.सं.२०४८ सालमा आफ्नो घरतिर मोटर बाटो खन्दा भेटिएको जरालाई उनले जरायोको सिङ जस्तै देखे । त्यसलाई घरमा लगेर काटछाट र रंग रोगन गरी जरायोको सिङ जस्तै आकृति दिए । उनको यो नै पहिलो कला थियो । उनको कला निर्माणलाई निरन्तरता भने ०५७÷०५८ बाट दिए । जर्बुट्टा कला निर्माण गर्दा गर्दै उनले ३ सय बढी कला बनाईसकेका छन । अहिले उनको कला संग्राहलय कुनै सरकारी लगानीमा बनेको कलालय भन्दा कम छैन ।
उनी भन्छन, द्वन्द्वको बेला वकालतमा मन्दी आयो, कमाई भएन, श्रीमति जीको शिक्षकको जागिरको पैसा लगानी गर्दै त्यो समय सदुपयोग गरेर कला बनाएँ । ‘उनले कमाएको पैसाले रङ, किन्थें, औजार किन्थें’ उनी सम्झन्छन । भन्छन – ‘अहिलेसम्म कलालाई निरन्तरता दिदैं आएको छु ।’ दिनभर वकालतका लागि अदालत जान्छन उनी । साँझ विहान जरा खोजेर कला बनाउँछन । उनकी श्रीमति प्रसिद्धा शर्मा पनि उनलाई साथ दिन्छिन ।
लामिछानेले कमलामाई नगरपालिका वडा नं. ५, ढकालगाउँमा रहेको आफ्नै २ तलाको काठको घरमा संग्राहलय स्थापना गरेका छन । एउटा व्यक्तिको मेहनतले बनेको उक्त कलाघर यतिबेला पर्यटकको गन्तव्य बनेको छ । इतिहास, कला, साहित्य, संगित होस वा अन्य जे सुकैको बारेमा थाहा पाउन उनको कला महत्वपूर्ण छ । कलाकार लामिछानेका अनुसार यस संग्राहलयभित्र ७ दिनदेखि ६ महिनासम्म लगाएर बनाइएका कलाहरू राखिएका छन् । तर,ती कुनै पनि एक–अर्काको आकृतिसँग मेल खाँदैनन, फरक फरक स्वरूपका छन् ।
उनका अनुसार जर्बुटा कला संग्राहलयको ३७ देशका २० लाख भन्दा बढि पर्यटकहरुले अवलोकन गरिसकेका छन । जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले सिन्धुलीगढीलाई जति महत्वपूर्ण ठान्छन उनको कला संग्राहलयलाई र त्यति नै महत्व दिएर हेर्न जान्छन । अझ शैक्षिक अवलोकनको मुख्य थलो नै बनिरहेको छ यो कला संग्राहलय । कला बिक्री नगर्ने र मरणोपरान्त राष्ट्रलाई उपहार दिने घोषणा गरेका उनले यस्ता कला दोहो¥याएर बनाउन नसकिने बताए । उनले हालसम्म कला न कसैलाई उपहार दिएका छन न बेचेका नै छन ।
यसरी भयो नामाकरण ?
सिन्धुलीमा जराबाट कला निर्माण हुन थाले लगत्तै यस्तो कलालाई ‘जर्बुट्टा कला’ भनी नामकरण समेत गरियो । यस्तो कलालाई ‘जर्बुट्टा कला’ नामकरण गर्ने श्रेय कवि प्रोल्लास सिन्धुलीयलाई जान्छ । उनले कलाको हाते पर्चा बनाउने क्रममा यो नाम दिएका थिए । यसअघि यसलाई काष्ठकलाका रुपमा स्वीकार गरिएको थियो ।
कलाको खोजी
जर्बुट्टा कला संग्राहलयमा ४० थान कला निर्माण गरी राखिएपछि नेपालमा यसको खोजी गरियो । तर रुखका जराबाट कला बनाएको भेटिएन । खोजी कै क्रममा बाँसका जराबाट व्यावसायिक रूपमा झापाका नरेन्द्रबहादुर श्रेष्ठका बारेमा जानकारी भयो ।
उनको निवासमा गएर ती कला समेत हेरेका छन उनले । उनका कलाहरु पनि साह्रै सुन्दर र आकर्षक पाईए । कोठा सजाउन प्रयोग गरिएका भएपनि ती रूखका जराबाटै बनेका कला रहेछन् । सो बाहेक यदाकदा चितवनको नारायणी नदी किनारमा बस्ने एक व्यक्ति र मनकामना, गोरखाका एक युवाले फुर्सदमा आयआर्जनका लागि यस्तै खालका कला बनाएर बिक्री गर्ने गरेको जानकारीमा आएको छ । यसबाहेक अन्य जानकारी हालसम्म उपलब्ध हुन सकेको छैन ।
जर्बुट्टा कलाको विशेषता
यो कला दाउराको रूपमा समेत काम नलाग्ने खालका फालिएका रूखका जराबाट निर्माण गरिन्छ । यो कला अन्य कलाभन्दा पृथक पनि छ । अन्य कलाजस्तो यो कलामा आफुले चाहेको आकृति दिन सकिन्न तर जराले कस्तो आकृति दिन्छ त्यस्तै कला बनाउनुपर्छ । जसका कारण एउटै कला बनाउन सकिने जरा पाउन गाह्रो छ ।
देशको आर्थिक, सामाजिक, राजनीतिकदेखि लिएर मानवीय पीडा, व्यथा, वेदना, रोदन, क्रन्दन, चित्कार, खुसी, हर्ष, विकृति, विसङ्गति, राष्ट्रिय, अन्तराष्ट्रि घटनाक्रमलाई उतार्न सकिन्छ तर जराको आकृति भेट्टाउन गाह्रो हुन्छ ।
कलाको स्ट्यान्ड बाहेक अरू ठाउँ जोड्ने, गाँस्ने, टाँस्ने कार्य गरिदैन । यो कला तयार पार्दा काष्ठकलाका सिकर्मीहरूले झैँ कुँद्ने, खोप्ने, बुट्टा काट्नेजस्ता कार्य कम मात्रामा गरिन्छ । रूखका जराको प्राकृतिक आकृतिमै के कस्तो बनोट लिएर आएको छ, त्यसलाई नबिगारी कलात्मक स्वरूप दिइन्छ । कलालाई आकर्षक बनाउन फर्निचरमा प्रयोग गरिने रङ–रोगनहरू चप्रा, इस्प्रिट लगाएतको प्रयोग गरिन्छ तर प्राकृतिक रङलाई भने ध्यान दिइन्छ । यो कला जतिवटा बनाए पनि भिन्नभिन्न आकृतिमा निर्माण हुन्छन ।
तस्वीरहरु अनलाईन तथा कलाकारको फेसबुक वालबाट लिईएको हो ।
























