सिन्धुली/नगर क्षेत्रमा हुने गरेका वाल विवाह न्यूनिकरण गर्न स्थानीय सरकार लागि पर्ने कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले बताएकी छिन । वालविवाह स्थानीय सरकारको चुनौतीका रुपमा आएको भन्दै उनले सवैको सहयोगमा यसलाई नियन्त्रण गर्न लागि पर्ने वताईन ।
शुक्रबार कमलामाई नगरपालिका वडा नं. ८ को कमला मावि करकरेमा रुपान्तरणका लागि नागरिक अभियान (सिफ्ट) सिन्धुलीले आयोजना गरेको वाल विवाह न्यूनिकरणमा सामाजिक दायीत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो वताएकी हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कार्यक्रमका अभियन्ता द्वारिका काफ्लेले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै उनले स्थानीय सरकारले नीति तथा कार्यक्रम वनाएर अगाडि बढ्ने भन्दै यसका लागि .आम नागरिकको सहयोग आवश्यक रहेको वताईन ।
कार्यक्रममा बोल्दै कनपा ८ का अध्यक्ष टिका बहादुर मोक्तानले बालविवाहका कारण जन्मेका बालबालिकाको जन्मदर्ता गराउन समेत समस्या आएको बताए । कार्यक्रममा प्रस्तुत कार्यपत्रमा सिन्धुली जिल्लामा नेपालको वर्तमान कानुनले निर्धारण गरेको २० वर्ष भन्दा अगाडि नै विवाह गर्नेको संख्या ८६ हजार ४ सय १६ उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०६८ लाई आधार मानेर तयार गरिएको जिल्लामा रहेका १ लाख ३९ हजार २ सय ६२ जना विवाहितमा बालविवाह गर्नेको संख्या ८६ हजार ४ सय १६ देखिएको हो । कार्यपत्रमा विभिन्न अनुसन्धान, नेपालमा बालविवाहको अवस्था, यसका कारण, असर र समाजको दायित्वका विषय प्रस्तुत गरिएको थियो ।
सिफ्ट सिन्धुलीका संयोजक एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयबासीहरु, शिक्षक, विद्यार्थीहरुले विषयवस्तुसँग सम्बन्धित जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, नागरिक अभियन्ताहरुडा. हरिप्रसाद पोखरेल,विश्वराज शर्मा, प्रवीण हायु, टोम प्रसाद काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव गुणविक्रम कुँवर, कमला माविका प्रअ कमल थापा, लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अभियन्ता रामकुमार थापाले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण रामेश्वर दाहालले गरेका थिए ।




















