सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्रीले वडामा आएका मुद्दालाई छिटो छरितो रुपमा समाधान गर्न र उचित न्याय दिन वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई निर्देशन दिएका छन । उनले वडामा आएका मुद्दा निष्पक्ष न्याय दिलाउने गरि समाधान गर्न निर्देशन दिएका हुन ।
कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा ३ दिनेदेखि सिन्धुलीमाढीमा चलिरहेको लैंगिक हिंसा निवारण र न्यायीक समितिको क्षमता विकास तालिमको समापन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन ।
शुक्रबार न्याय संविधान र महिलाको कानुनी अधिकार र न्यायीक समितिको क्षमता विकास गर्ने उद्देश्यले गरिएको तालिमको समापन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै मेयर खत्रीले नगरपालिकामा छुवाछुत बोक्सीको आरोप महिला हिंसा जस्ता घटना हुन नदिन सबै जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन । उनले केहि जनप्रतिनिधिले वडामा मुद्दा समाधान गर्न नखोजेको बताउँदै आगामी दिनमा न्याय सम्पादनमा कुनै गुनासो आउन नदिन समेत निर्देश गरेका छन ।
उनले भने, ‘न्याय मर्न नदिन जस्तो सुकै परिस्थितिको सामना गर्न तयार हुनुहोस ताकी गुनासो बाहिर नआओस ।’ तालिममा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सोभा पाण्डे लगाएतले प्रशिक्षण दिएका थिए ।लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका साथ तालिमको आयोजना गरिएको थियो ।




















