सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ स्थित कालिमाटीमा शसस्त्र प्रहरी गुल्म बन्ने भएको छ । जिल्लामा शसस्त्र प्रहरी वेश क्याम्पको रुपमा रहेको शसस्त्र प्रहरी फोर्स स्तरोन्नती भएर अव गुल्ममा परिणत हुने भएको छ ।
सिन्धुलीमा शसस्त्र प्रहरी गुल्म निर्माण गर्नका लागि मन्त्रीपरिषदबाट निर्णय भइसकेको र अहिले शसस्त्र प्रहरी वेश क्याम्प रहेको स्थान कमलामाई नगरपालिका वडा नं. ५ मधुटारमा आफ्नो जमिन नभएका कारण गुल्म निर्माण गर्नका लागि उक्त स्थान पहिचान गरिएको शसस्त्र प्रहरी क्याम्प सिन्धुलीका प्रमुख प्रहरी नायव उपरिक्षक दिनेश शर्माले बताए ।
नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्राधिकार भित्र पर्ने जग्गा उपलब्ध गराउने र त्यस क्षेत्रका स्थानीयहरुले पनि आवश्यकता महसुस गरेपछि जग्गाको पहिचान तथा छनोट गरी जिल्ला स्तरीय प्रक्रिया पुरा गरेर केन्द्रमा पठाइने र केन्द्रले स्वीकृती दिएपछि काम सुरु गरिने डिएसपी शर्माले जानकारी दिए ।
सर्वदलीय सर्वपक्षीय सहमति भइसकेपश्चात जग्गाको भू–वनोट तथा अवस्थिति अध्ययनका लागि शुक्रबार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक दिनेश शर्मा, नापी कार्यालय सिन्धुलीका प्रतिनीधी, विभिन्न राजनितीक दलका प्रतिनिधीहरु सहितको टोलीले स्थानीयको सहमतिअनुसार जग्गाको चार किल्ला छुट्याइ सिमाङ्कन गरेको छ ।




















