सिन्धुली /जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा तीज विशेष महिला उद्यमी व्यापार मेला लाग्ने भएको छ । तीजको अवसरमा महिला उद्यमी संघ सिन्धुलीले तीज विशेष मेलाको आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
महिलाहरुको महानचाड तीजको अवसरमा विकृति भित्रिएको भन्दै यसलाई रोक्न र महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरीत गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको महिला उद्यमी संघ सिन्धुलीका अध्यक्ष निरु श्रेष्ठले बताइन ।
संघले भदौ २३ र २४ गते मेलाको आयोजना गरेको र यसको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा स्थानीय स्तरमा महिला उद्यमीहरुले नै उत्पादन गरेका सामग्रि मुख्य आर्कषक रहने संघका अध्यक्ष निरु श्रेष्ठले बताइन । मेलामा दश वटा स्टल रहने र स्थानीय स्तरमा उत्पादन गरिएको ढाका, ललिपप, उर्जा, डेरी, अचार, सातु, कस्मेटिक, रेडिमेट, जुत्ता, चप्पल, जुनार जुस, लगाएतका अन्य हाते सिपबाट उत्पादित वस्तुहरु व्यापार मेलाका आर्कषक रहने पनि उनले जानकारी दिइन ।
मेलामा महिला तथा पुरुषहरुले अवलोकन गर्न सक्ने छन् । जिल्लामा छरिएर रहेका महिला उद्यमीहरुलाई भोलीका दिनमा अझै अगाडि बढाउन र उनीहरुको उत्पादनलाई बजारीकरण गर्न मेलाले सघाउने उद्देश्य रहेको छ । जिल्लामा धेरै महिला उद्यमीहरु रहे पनि उत्पादित सामानको बजारीकरण नहुँदा महिला उद्यमीहरु निरुत्साहित भएको भन्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य समेत मेलाको रहेको आयोजकले जानकारी दिएको छ ।
जिल्लामा अन्य महिला तथा साझेदार निकायहरुले तीज विशेष कार्यक्रम गरेपनि पैसा तिरेर दर खाने र नाच्ने भन्दा बाहेकका अन्य उपलब्धि नहुने भएकाले यसले विकृति सिर्जना भएको महिला उद्यमी संघ सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उनले आगामी ३ बर्षमा १ हजार महिला उद्यमीहरु उत्पादन गर्ने लक्ष्य समेत लिएको जानकारी दिएकी छिन । महिला उद्यमी संघ सिन्धुलीले श्रीमान बैदेशिक रोजगारीमा गएका श्रीमतिहरुलाई उद्यमी बनाउने लक्ष्य राखेको पनि बताइन ।




















