सिन्धुली/गतवर्षको तुलनामा जिल्लामा घरेलु हिंसाका उजुरी बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला तथा वालवालिका सेवा केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा यो वर्ष घरेलु हिंसा बढेको सेवा केन्द्रको तथ्यांकमा उल्लेख छ । २०७३÷०७४ मा ५९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएकोमा ०७४÷०७५ मा १५ ले बढेर ७४ पुगेको हो ।
सेवा केन्द्रमा दर्ता भएका ७४ वटा उजुरीमध्ये ४८ वटाको मिलापत्र भएको, ३ वटा निवेदन दिएर पनि सम्पर्कमा नआएको र २३ वटा विवादको आवश्यक कार्वाही भइरहेको सेवा केन्द्रकी प्रमुख इन्स्पेक्टर शोभा पाण्डेले बताइन ।
दर्ता भएका उजुरीमध्ये धेरै जसो श्रीमान श्रीमतिको घर झगडाका कारण हुने हिंसाका उजुरी रहेको केन्द्रले जनाइएको छ ।




















