सिन्धुली । मानव बेचविखनबिरुद्ध अन्तराष्ट्रिय स्तरमा काम गर्द आएको संस्था शक्ति समूह नेपालकी कार्यकारी निर्देशक सुनिता दनुवारको विशेष उपस्थितिमा विद्यार्थीहरुबीच उत्प्रेरणामूलक कक्षा सञ्चालन भएको छ ।
बिहिबार सिद्धज्योति शिक्षा क्याम्पसको आयोजना तथा शक्ति समूह नेपालकी कार्यकारी निर्देशक सुनिता दनुवारको मूख्य उपस्थितीमा क्याम्पसको सभाहलमा उक्त कक्षा संचालन भएको हो ।
दनुवारले आफू मुम्वइमा बेचिँदा भोगेका दुःख, नेपाल फर्किसकेपछि पनि राज्य तथा विभिन्न संघसंस्थाहरुबाट भएको अपहेलना तथा आफूहरुले खोलेको संस्था शक्ति समूह नेपालले बेचिएका नेपाली चेलीहरुको उद्धारमा खेलेको भूमिकाबारे विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् ।
सिद्धज्योति शिक्षा क्याम्पसका क्याम्पस प्रमुख अर्जुन दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय शक्ति समूह नेपालका सिन्धुलीका जिल्ला अध्यक्ष सुवास कोइरालाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्याम्पसका प्राध्यापक रामचन्द्र दाहालले गरेका थिए भने कार्यक्रमको संचालन प्राध्यापक त्रिभुुवनपति भाष्कर थापाले गरेका थिए । कार्यक्रममा क्याम्पसमा कक्षा ११ देखी स्नातक तहसम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा प्राध्यापकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्मरण रहोस् उल्लेखनीय कार्य गरे वापत शक्ति समूह नेपाल तथा उक्त संस्थाकी कार्यकारी निर्देशक सुनिता दनुवार पटक–पटक विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्डबाट सम्मानित समेत भएका छन् ।






















