रविन्द्र भट्टराई
सिन्धुली । नेपालमा सडक संजालको विस्तार भएसँगै सडक दुर्घटनाको संख्यामा पनि अत्याधिक वृद्धि भएको पाइएको छ । ३ नं. प्रदेशका अधिक सडक दुर्घटना हुने जिल्लाहरुमध्ये सिन्धुली जिल्ला चौथो स्थानमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सडकमा हुने सवारी दुर्घटनाको संख्यालाई हेर्दा यस्तो तथ्याङ्क पाइएको हो । वर्षभरीमा ३ नं. प्रदेशमा भएका यस्ता दुर्घटनाको तथ्याङ्क हेर्दा सिन्धुली जिल्ला अत्याधिक सवारी दुर्घटना हुने जिल्लामा परेको छ । विगत एक वर्षको अवधिमा सिन्धुली जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४० रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी दुर्घनामा परी १ वर्षको अवधिमा ६१ जना गम्भीर प्रकृतिका घाइते र ५७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमा १ वर्षको अवधिमा ६४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले पनि सिन्धुली जिल्लालाई अधिक सवारी दुर्घटन्ँ हुने जिल्लाको सूचिमा राखेको छ ।
ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १५ हजार भन्दा बढि सवारी साधन र तिनका चालक कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरि कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारी साधन चलाउने १५ हजार ८ सय ५० वटा सवारी कार्वाहीमा परेका हुन् ।
कारवाहीमा परेका सवारी साधनबाट गत आ.व. २०७४÷०७५ मा करिव १ करोड ८ लाख ५४ हजार ५ रुपैया राजस्व संकलन गरिएकोको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख केशरमान बस्नेतले प्रभात समाचारलाई बताए ।
तिव्र गतिमा सवारी साधन चलाउने, कागजपत्र साथमा नलिइ सवारी चलाउने, मोटरसाइकल तथा स्कुटर चलाउँदा हेल्मेट नलगाउने, गाडी चलाउँदा सिटबेल्ट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी साधनको क्षमताभन्दा बढी यात्रु तथा माल–समाना बोक्ने सवारी साधन तथा सवारी चालकबाट उल्लेखित राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।




















