सिन्धुली । निकै लामो वादविवाद पछि गत असार ३१ गतेबाट वीपी राजमार्गमा ३२ सिट तथा १० टन क्षमताका सवारी साधन चलाउनका लागि सर्बोच्चले आदेश दिएको छ । विभिन्न समयमा मन्त्रालय सम्हालेका यातायात व्यवस्था सँग सम्बन्धीत मन्त्रीहरु यही राजमार्गको विषयलाई लिएर विवादमा समेत तानिने गरेका छन् । यसरी विवादमा तानिने मन्त्रीहरुमा विमलेन्द्र निधी, रमेश लेखक तथा हालका भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ हुन् ।
व्यवसायीहरूको दबाब तथा कतिपय अवस्थामा आर्थिक चलखेलका कारण हुने मन्त्रीस्तरीय निर्णयले स्वयं मन्त्री नै विवादमा तानिने गरेका दृष्टान्तहरु छन् । यस्ता निर्णय गर्नुअघि सडकको डिजाइन, भारवहन क्षमता, भौगोलिक अवस्थालाई वेवास्ता गर्दा समस्या सृजना हुने गरेका छन् । विपी राजमार्गका जानकार सडक इन्जिनियरहरुले सडकको मुख्य समस्या भारवहन क्षमता भन्दा पनि गाडीको अनियन्त्रित तिव्र गति प्रमुख रहेको बताउने गरेका छन् ।
बिपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा झण्डै २० वर्ष लगाएर निर्माण सम्पन्न गरिएको हो । यो सडक २०७२ असारमा निर्माण सम्पन्न भई नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण भएको हो । सो समयमा निर्माणको प्रमुख ठेकेदार निप्पोन कोइका परामर्शदाता एवं इन्जिनियर हिरोशी फुजिसावाले भनेका थिए, ‘यहाँ सबैखाले यातायात चलाउन सकिन्छ तर सवारीको गति प्रतिकिलोमिटर प्रतिघण्टा २० देखि ४० हुनुपर्दछ ।
तत्काल सडकमा डिजाइन स्पिड बढाउने अवस्था छैन तर यस सडकमा लामा–लामा लरी चलाउन मिल्नेखालका घुम्ती निर्माण भएका छन्, यहाँ यस्ता साधन चलाउन सवारी साधनका गति कम हुनुपर्दछ । राजमार्गमा प्रत्येक २००÷३०० मिटरको दुरीमा पासिङ जोन भनेर सडक चौडा बनाइको उनको छ । यो बाटो बिस्तारै आनन्दसाथ गाडी चलाउन बनाइएको हो, सवारी हुइँक्याउन होइन, उनले भनेका थिए । हाल यसको विपरित विपी राजमार्गमा प्रतिघण्टा ५०–६० को गतिमा सवारीहरु हुइँकिने गरेका छन् । जसका कारण दैनिक कुनै न कुनै रुपमा सवारी दुर्घटनाका घटनाहरु थपिइरहेका छन् ।
बिपी राजमार्गका निमित्त आयोजना प्रमुख राकेश महर्जन पनि गाडीभन्दा पनि गति नियन्त्रण प्रमुख चुनौती रहेको बताउँछन् । महर्जनले १५–१६ मिटरसम्मका सेमी टेलर चलाउन मिल्नेगरी डिजाइन भएको भए पनि सवारीको गति नियन्त्रण प्रमुख कुरा रहेको बताए । महर्जनले भने ‘मैलै हालैमात्र जाइकाबाट उनीहरूले सुरुमा बनाएको डिजाइन लिएर अध्ययन गरेँ । रिपोर्टहरूमा १५÷१६ मिटर लामा गाडी चलाउन मिल्ने तर गति भने २० देखि ५० किलोमिटरसम्म हुनैपर्ने उल्लेख छ ।’
महर्जनका अनुसार घुम्तीहरूमा सवारीको गति २० किलोमिटरको हुनुपर्छ भने लामो र सम्म ठाउँमा ४०–५० किलोमिटरको गतिमा जान सकिन्छ । ‘साँघुरा घुम्तीमा २० किलोमिटर, अलिक चौडा घुम्तीमा ३० किलोमिटरको गति लिन सकिन्छ ।
यो सडक काभ्रेको धुलिखेलदेखी महोत्तरीको बर्दिबास सम्म १ सय ६० किलोमिटर लम्बाइ रहेको छ । नेपालको पूर्वी पहाड र मधेसका यातायातका साधनका लागि नारायणघाट हुँदै काठमाडौँ सम्म जोडिने सडकभन्दा झण्डै २ सय किलोमिटर छोटो पर्ने भएका कारण पूर्वी नेपालका गाडीहरुको चाप यो सडकमा अत्याधिक छ ।
अझ सर्बोच्चको आदेशपछि ३२ सिटे बसको संख्या थपिने हुँदा सडक अझ व्यस्त हुने सहजै अनुमान गर्न सकिन्छ । यस सडकले पूर्वी नेपालका पहाडी जिल्लाका सवारी साधन मध्यपहाडी लोकमार्ग हुँदै आएपनि खुर्कोटपछि त्यो भार पनि यही सडकमा पर्दछ । पूर्वी पहाडका इलम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलु लगायतका जिल्लाबाट चल्ने गाडीहरु र दोलखा, रामेछापबाट काठमाडौँ जाने गाडीसमेत यो सडक हुँदै आवतजावत गर्दछन् । यस्तै पूर्वी तथा मध्य तराईका झण्डै १४ जिल्लाका साना तथा मझौला यात्रुवाहक तथा मालवाहक सवारीको भारसमेत योे सडकले ब्यहोर्दै आएको छ ।
बिपी राजमार्गमा ठूला–साना गाडीको भन्दा पनि धेरै गति र धेरै लोड प्रमुख समस्या हो । राजमार्गका निमित्त प्रमुख राकेश श्रेष्ठ निर्माण सामग्री बोक्ने टिपरहरू बाटो बिगार्ने प्रमुख साधन भएको बताउँछन् । उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘गाडीको पछाडिको चक्कामा हुने भारलाई आधार मानिने हुनाले दुई पट्टीका चक्कामा ५–५ मेट्रिक टन सडकमा स्वीकार्य छ ।’




















