सिन्धुली । एक चौध वर्षिय बालिकालाई विवाह गरि बलात्कार गरेको ठहर गर्दै सिन्धुली जिल्ला अदालतले मरिण गाउँपालिका वडा नं. ५ चौकीटारका २५ वर्षिय श्याम कुमार दमाईलाई ८ बर्ष तीन महिना कैद सजायको फैसला गरेको छ ।
अदालतको मंगलबारको फैसलाले दमाईलाई बालविवाह गरेवापत ३ महिना कैद तथा १ हजार जरिवाना र बलात्कार गरेकोमा ८ वर्ष कैद फैसलाका साथै ५ हजार क्षतिपूर्तिको फैसला सुनाएको हो । जिल्ला न्यायाधिस पूर्णेश्वर प्रसाद उपाध्यायको एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दमाईकी जेठी श्रीमति २३ वर्षिय शान्ती दर्जीले २०७४ फागुन २५ गते श्रीमानले अर्को विवाह गरेको भनि उजुरी दिएपछि बालविवाह गरि बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको थियो । दमाईले बालिकालाई श्रीमति बनाएर घरमा भित्राएको र शारीरिक सम्बन्ध समेत राखेको खुल्न आएपछि उनलाई बालविवाह र बलात्कारमा मुद्दा चलाएको थियो ।
दमाईले ती बालिकालाई २०७४ फागुन १५ गते विवाह गरि घरमा भित्राएको र २ छोराछोरी सहित जेठी श्रीमतिलाई घरबाट निकाला गरेका थिए । पीडक दमाईलाई प्रहरीले २०७४ फागुन २४ गते नै पक्राउ गरेको थियो ।




















