सिन्धुली । सर्वोच्च आदालतले विपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका सवारी साधन चलाउन अन्तरिम आदेश दिएको भए पनि सो आदेशलाई लत्याउँदै अत्यधिक भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन थालेका छन । व्यवसायी र प्रहरीको मिलेमतोमा यस्ता सवारी साधनहरु सञ्चालनमा आएका हुन ।
यातायात व्यवसायी कान्छामान बल समेतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिस बम कुमार श्रेष्ठको इजलासले असार १४ गते उक्त आदेश दिएको भए पनि सिन्धुलीको प्रहरी र सिन्धुली बाहिरका व्यवसायीको मिलेमतोमा यस्ता सवारी साधन सञ्चालनमा आएका हुन ।
स्थानीय व्यवसायीहरुको चर्को विरोध भएपनि सिन्धुली बाहिरबाट राजधानी भित्रिने र बाहिरिने सवारी साधनहरुबाट प्रहरीले पैसा लिँदै रातको समयमा अत्याधिक भारवहन क्षमता भएका सवारी राजमार्गमा चल्न दिएको सिन्धुलीका स्थानीय तथा ट्रक व्यवसायी शम्भु खड्काले बताए ।
‘सिन्धुलीका ट्रकहरु झण्डै एक महिनादेखी वीपी राजमार्गमा सञ्चालनमा रोक लगाईए पनि दोलखा, रामेछापबाट तराई जाने आउने र काँकडभिट्टा, विराटनगर, जनकपुर, राजविराज, विरगञ्ज लगायतका तराईका जिल्लाबाट पहाडी जिल्ला तथा काठमाण्डौं जाने आउने ट्रकहरु प्रहरीसंगको मिलेमतोमा निर्वाध सञ्चालनमा छन्,’ उनले भने ।
सिन्धुलीका व्यवसायिहरु सर्वोच्चको आदेशको पलना गर्दै अर्को आदेशको पर्खाइमा रहेका भए पनि सिन्धुली बाहिरका व्यवसायीसँग प्रति ट्रक ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म एकतर्फी पैसा असुलेर प्रहरीले छाड्ने गरेको खड्काको आरोप छ ।
झण्डै चार वर्षअघि जापान सरकारको सहयोगमा निर्माण सम्पन्न वीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा साँघुरो र अत्यन्त घुम्ती नै घुम्ती भएका कारण दुर्घट्ना बढ्ने र सडकको भारवहन क्षमता समेत कम भएको भन्दै गत जेठ २१ गते सर्वोच्चका न्यायाधिस सपना मल्लको एकल इजालसले १० टन क्षमता भन्दा बढीका ट्रक र १६ सिटभन्दा लामा बस सञ्चालनमा रोक लगाउन अन्तरीम आदेश दिएको थियो भने पछिल्लो आदेशले ३५ सिटका सवारीलाई चल्ने आदेश अदालतले दिएको थियो ।
त्यसअघि भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठले विपी राजमार्ग आयोजनाको प्रतिवेदनलाई लत्याउँदै सिन्धुली–खुर्कोट खण्डमा १६ टन क्षमताका ट्रक र ३२ सिटसम्मका बस सञ्चालन गर्न अनुमति दिएका थिए । मन्त्री महासेठले दिएको अनुमति सडकको भारवहन क्षमता र मापदण्ड विपरित भएको भन्दै सर्वोच्चमा रिट परेपछि न्यायाधिस मल्लको एकल इजालसले अन्तरीम आदेश जारी गरेसंगै गत जेठ २४ गतेबाट त्यस्ता सवारी सञ्चालनमा पूर्ण रोक लगाएको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नेतृत्वमा एसपी रामेश्वरप्रसाद यादव आएसंगै रातको १२ बजेपछि अबैध पैसा असुल गरी सर्वोच्चको आदेशको अवज्ञा गर्दै ट्रकहरु सञ्चालन हुने गरेको गुनासो बढेको हो । सर्वोच्चको आदेशपछि प्रहरीले कमलामाई नगरपालिका ४ हिरापानीमा ट्राफिक प्रहरी सहितको चेकजाँच युनिट खडा गरेको छ । दिनभर त्यस्ता सवारी साधन रोकिने भए पनि रातको समयमा जिल्लाको आदेश भन्दै प्रहरीले छाड्ने गरेको हिरापानीका स्थानीय टंकबहादुर कार्कीले बताए । ‘एसपी सापकै सेटिङमा पैसा दिए रातको समयमा ट्रकहरु छाडिन्छन् । नत्र भए दिनभर रोकिएका ट्रकहरु रात सकेर उज्यालो हुँदा रोकिएका ठाउँमा हुँदैनन् । ति ट्रकहरु कहाँ जान्छन् ?,’ उनले उल्टो प्रश्न गरे ।
रातको समयमा अन्य ट्रकहरु सञ्चालन हुने गरेको भन्दै आफुहरुले पनि ट्रकमा लोड भएका सामग्रीको तौल नापेर सर्वोच्चको आदेश अनुसारको क्षमता बोक्न पाउनु पर्ने माग गर्दै ट्रक व्यवसायी आन्दोलित समेत भएका छन् । ‘प्रहरीले पैसा लिएर अरु ट्रक छाड्ने हाम्रो किन रोक्ने हाम्रो पनि चल्न पाउनु पर्छ,’ट्रक व्यवसायि संघ सिन्धुलीका अध्यक्ष दिपक दाहालले भने ।
ट्रकमात्र हैन विपी राजमार्गमा रातको समयमा अन्य सवारी साधनलाई समेत सञ्चालनमा रोक लगाईदै आएको छ । ना४ख ५५१४ नम्बरको ट्रकमा ट्रकभरी सामान लोड गरेर तराईबाट आएको भए पनि ट्रकका साहुसंग सिन्धुलीमाढीमै पैसाको मोलमोलाई भएपछि एसपी सापले काठमाण्डौंबाटै छाड्न आदेश दिएपछि वीपी राजमार्ग हुँदै काभ्रेमा गाई गोरु लिन गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमै कार्यरत एक प्रहरीले खुलासा गरे ।
यति मात्र हैन प्रहरी र व्यवसायिको मिलेमतोमा वीपी राजमार्गमा दैनिक रुपमा अबैध सामानको ओसार पसार समेत हुने गरेको तथ्य बाहिर आएको छ । प्रहरीकै सेटिङमा सुन, काठ, खाद्यान्न, लत्ताकपडा, गाई गोरु, भैसी लगायतका सामग्री र वस्तु भारतबाट राजस्व छली गर्दै काठमाण्डौं पु¥याउने र तराई झार्ने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकै एक प्रहरी जवानले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।
‘काकडभिट्टाबाट आउने हायसमा लुकाई छिपाई दुई दिनसम्म झण्डै ५ लाख रुपैयाँ बढीको राजस्व छली गरी भारतबाट ल्याइएको कपडा सुराकीका आधारमा नियनत्रणमा लिएको भए पनि प्रहरी प्रमुखकै आदेशमा छाडिएको छ,’ उनले भने । प्रहरीकै सेटिङमा सर्लाहीका कपडा व्यापारी दिनेश यादवले दैनिक अबैध कपडा रातको समयमा काठमाण्डौं सप्लाई गर्ने गरेको समेत प्रहरीबाटै सुचना प्राप्त भएको छ ।
उता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी यादव जिल्लामा इन्चार्ज भएर आए लगतै विपी राजमार्गमा सबै प्रहरी विटहरुमा आफु अनुकुलका प्रहरीलाई मात्र इन्चार्ज बनाएर पठाएको समेत आरोप छ ।
यस विषयमा बुझ्दा एसपी यादवले सर्वोच्चको आदेशको आफुहरुले पूर्ण रुपमा कार्यान्वयन गरेको दावी गरे । सम्बन्धित निकायबाट अनुमति लिएर आउनेट्रक मात्र छाड्ने गरेको भए पनि अन्य विषयमा प्रहरीमाथी लागेको आरोपको कुनै सत्यता नभएको समेत उनले दावी गरे ।




















