सिन्धुली, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले चारवटा खानेपानी आयोजना स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
सुनकोशी गाउँपालिका–६ मा निर्माण तथा पूनःनिर्माण गरी हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका भुकम्प प्रतिकार्य कार्यक्रम जिल्ला कार्यक्रम संयोजक भरत कुमार श्रेष्ठले बताए ।
वडा नम्वर ६ का वडा अध्यक्ष लक्ष्मि प्रसाद तिमल्सिनाको अध्यक्षता तथा गाउँपालिका प्रमुख दिपा बोहोराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भुकम्प पछि विग्रिएका र नयाँ निर्माण गरिएका खानेपानी आयोजनाहरु एक साथ हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
हस्तान्तरण गरिएका आयोजनाहरुमा एक वटा नयाँ आयोजना सम्पन्न गरिएको हो भने तीन वटा पुरानोलाई मर्मत गरिएको छ । उक्त गाउँपालिका–६मा तीनवटा खानेपानी आयोजनाहरु २०७२ सालको भुकम्पले क्षति पु¥याएको थियो ।
निर्माण तथा मर्मत सम्पन्न गरिएका आयोजनाहरुमा लप्से खानेपानी आयोजना, गउँखर्क खानेपानीमा दुई वटा आयोजना र सितलपाटीमा सोलारबाट पानी तान्ने प्रविधिको (सोलार लिफ्ट) आयोजना सम्पन्न गरिएको संयोजक श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटी ६३ लाख ६४ हजार ३ सय रुपैया र स्थानीयको २० प्रतिशत बराबरको श्रमदानबाट ती आयोजनाहरु सम्पन्न भएको श्रेष्ठले बताए ।




















