सिन्धुली, १८ असार ÷ कमलामाई नगरपालिकाको न्यायिक समितिमा एक वर्षको अवधिमा ४० वटा उजुरी दर्ता भएका छन् । कमलामाई नगरपालिकाको न्यायिक समिति सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै सबैभन्दा बढी जग्गाको साँध सिमाना विवाद दर्ता हुने गरेको जनाएको छ ।
जसमा १३ वटा विवादमा छलफल गराई मिलापत्र मार्फत समस्या समाधान गरिएको र ३ वटा मुद्दा जिल्ला अदालतमा सिफारिस गरिएको समितिका संयोजक एवम् कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले बताईन ।
दर्ता भएका उजुरीहरुमा जग्गाको साँध सीमाना सम्बन्धी १७ वटा, जग्गा मिचि घर बनाएको ४ वटा, लेनदेन सम्बन्धी ३ वटा, सार्वजनिक जग्गा मिचि घर बनाएको र निर्माणधिन घर रोक्का सम्बन्धी २–२ वटा रहेका छन् ।
यसैगरी हातपात गरी गाली गलौज, आफ्नो घर भोग चलन गर्न नपाएको, बाटो खन्ने कार्य रोकी पाउँ, घर निर्माण कार्य गर्न नदिएको, घरमा जाने बाटो नदिएको, कोठा खाली गरि पाउँ, मन्दिर जोगाई पाउँ, घर निर्माण लागत रकम असुली गरि पाउँ, कामदारको ज्याला दिलाई पाउँ, चर्पी निर्माण कार्य रोक्का गरि पाउँ, विद्यालय जाने बाटो खुलाई पाउँ र छानविन गरि प्रक्रिया अगाडि बढाई पाउँ जस्ता मुद्दामा एक एक वटा उजुरी परेका छन ।
परेका उजुरी मध्ये २१ वटा मुद्दा विचाराधिन अवस्थामा रहेको देवकोटाले बताइन ।




















