रविन्द्र भट्टराई
कटारी/कटारी नगरपालिकाका सब ईन्जिनियरले उपभोक्ता समितिबाट पैसा असुल गर्ने गरेको खुलासा भएको छ । कटारी नगरपालिका वडा नं. १० सोरुङ्ग छब्बिसेको एक उपभोक्ता समितिका अध्यक्ष मान बहादुर खत्रीसँग २० हजार रुपैयाँ असुलेको खुलासा भएको हो ।
जनसहभागिता बाहेक ५ लाख बजेट भएको सोरुङ्गछब्बिसे हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मान वहादुर खत्रीले सब ईन्जिनियर ओम मिश्रले पैसा मागेको बताए । बैशाख १६ गते सो आयोजनाको पहिलो किस्ता वापत २ लाख २४ हजार निकासी प्राप्तपछि कटारीको एक होटलमा खाजा खाने क्रममा सब ईन्जिनियरले भुक्तानी भए वापत ४५ हजार माग गरेको अध्यक्ष खत्रिले बताए । उनले भने, ‘मिश्रले ४५ हजार मागेका थिए हामीले २० हजारसम्म दिन सकिने भनेर दिएका हौं ।’
खत्रीको समिति मात्र हैन कटारी नगरपालिकाका उपभोक्ता समितिहरु यस्तो चपेटामा वारम्बार पर्ने गरेको स्थानीय कृष्ण थापाले बताए । खत्रिसगैँ सोरुङकै झगटार बाटो उपभोक्ता समितिका हस्त वहादुर मगरले पनि यस्तो समस्याको सामना गर्नु परेको बताए । मिश्रले पहिलो किस्ता निकालेपछि भेट्नु भन्नु भएको थियो, मगरले भने, हामीले (खत्री र म) भेट्दा पैसा माग्नु भो । ४०, ४५ हजारको हारारीमा त्यो मागलाई हामिले सकिदैन भने पछि २०÷२० हजारमा उनलाई चित्त बुझाएर पठायौँ ।’
मिश्रले भने उपभोक्ता समितिका पदाधिकारीले गलत आरोप लगाएको बताए । आफुले कसैसँग पैसा नमागेको भन्दै आफुलाई गिराउने खेल मात्र भएको सब ईन्जिनियर ओम मिश्रको भनाई छ ।
कमिसन नदिए काम सकिए पनि कागजात नमिलाईदिने गर्दा उपभोक्ताहरू रकम निकासा गर्न कमिसन दिन बाध्य हुनुपरेको उपभोक्ता समितिहरूको गुनासो छ । नगरपालिकाको सबै योजनाहरूमा अन्य ईन्जियरलाई काम लगाए पनि अन्यले समेत मिश्रलाई कागजात पुराएर कमिसनको सिकार हुनु परेको समितिहरूको गुनासो छ ।




















