सिन्धुली । मदनभण्डारी राजमार्ग भासिँदा पाँच घर विस्थापनको अवस्थामा पुगेको छ । कमलामाई नगरपालिका वडा नं. १ स्वाँरामा सडक भासिएर चिरा परेपछि पाँच घर विस्थापनको अवस्थामा पुगेको हो । सडक चिरा परेको छ ।
सडक २ फिट जति तल भासिएको र २० मिटर लामो चिरा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताएका छन । सडक भासिएर सडक मुनीका पाँच घर जोखिममा परेका हुन ।
सडकका कारण स्थानीय भुवनध्वज खड्काको एकतले पक्किघर, दुधराज खड्काको ढुंगा माटोले बनेको दुईतले घर, हेमबहादुर खड्काको ढुंगा माटोले बनेको दुईतले घर, कृष्णप्रसाद कोईरालाको ढुंगामाटोले बनेको दुईतले घर र केदारप्रसाद काफ्लेको ढुंगा माटोले बनेको दुईतले घर जोखिममा परेको एसपी काफ्लेले बताए ।
सडक भासिएर पाँच घर जोखिममा परेको खबर पाएपछि आइतबार कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख धर्मराज खत्री र प्रहरी चौकी डाँडी गुराँसेको टोली स्वाँरामा अनुगमनमा पुगेको छ ।
घर जोखिममा भए पनि उनीहरु त्यहि घरमै बसेका छन । उनीहरुको घर निक्कै जोखिममा भए पनि उनीहरुलाई स्थानान्तरण भने गरिएको छैन । स्थानान्तरणका लागि कमलामाई नगरपालिका, विपद व्यवस्थापन समिति, मदन भण्डारी राजमार्ग आयोजनासँग समन्वय भईरहेको एसपी काफ्लेले बताए ।
उनका अनुसार पानी परेमा जतिबेला पनि उनीहरुलाई स्थानान्तरण गर्नुपर्ने हुन सक्छ । राती अवेरसम्म पानी नपरेकाले उनीहरुलाई सोमबार स्थानान्तरणको काम गरिने उनले बताए । सडक भासिएपछि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ ।




















