सिन्धुली । तिनपाटन गाउँपालिका वडा नवर १ लाई असार १० गते बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । बालमैत्री स्थानीय शासनका ५१ सूचक पूरा गरि वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन भएको वडा घोषणा गर्ने तयारी गरिएको हो । जसका लागि वडा कार्यालयसँग प्लान नेपाल र जनजाती विकास कार्यक्रमले सूचक पूरा गर्न काम गरेका थिए ।
वडालाई वालमैत्री घोषणा गर्नुपूर्व भए गरेका कामको बिहिबार सामाजिक लेखा परीक्षण गरिएको छ । गल्र्स स्ट्यान्डिङ स्ट्रोङ परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको सामाजिक लेखा परीक्षण गरिएको हो ।
प्लान इन्टरनेश्नल नेपालको सहयोग तथा तीनपाटन गाउँपालिकाको समन्वय तथा जनजाति समाज विकास कार्यक्रम सिन्धुलीको आयोजनामा तीनपाटन गाउँपालिका वडा नं. १, २, ३ मा संस्थाले सञ्चालन गरेका विभिन्न कामका गतिविधिहरूको सो अवसरमा सामाजिक लेखा परीक्षण गरिएको छ ।
सेवा प्रवाहको अवस्था, गुणस्तरीयता, पारदर्शीता तथा प्रभाकारिताका बारेमा सामाजिक परिक्षणमा छलफल गरिएको थियो । सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सामाजिक लेखा परिक्षणका सूचकमा आधारित रहि सामाजिक परिक्षण गरिएको हो ।
कार्यक्रममा परियोजना अधिकृत अर्जुन कुमार बयलकोटीले बालबालिका किशोर किशोरीहरुको हक अधिकार प्राप्त गर्न तथा समावेशी शिक्षा, स्वास्थ्य प्रवद्र्धनका लागि गर्भवती आमा तथा शिशुलाई पोषिलो खाना खुवाउने तथा अपाङ्गता भएका बालबालिकाहरूले समान रुपमा सेवा लिन पाउने सकारात्मक तथा सहज रुपमा सेवा प्रदान गर्न सहयोग गर्ने उद्देश्यले परियोजना अन्तर्गत सहयोग गरिएको बताएका छन ।
नीति तथा संरक्षण कार्यक्रम तिनपाटन १ बेलघारीमा वडा स्तरीय बाल मैत्री स्थानीय शासन गठन गरि बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न, बालमैत्री स्थानीय शासन कार्यान्वयन वडा असार १० गते भित्र गर्नका लागि कामहरु भईरहेको उनले बताए । वडा कार्यालय, विद्यालाय, प्रहरी, स्वास्थ्य केन्द्र आदिमा भित्ते लेखनको काम भई सकेको र केही मात्रामा डकुमेन्ट्रीको काम बाँकी रहेको उनले बताए ।
सामाजिक लेखा परीक्षणको सहजीकरण भने अनिल भण्डारीले गरेका थिए । प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा जनजाति समाज विकास कार्यक्रम सिन्धुलीले सञ्चालन गरेका कार्यक्रमको बारेमा सरोकारवालाहरुसँग भएका सहभागिका जिज्ञासा सम्बन्धित निकायका पदाधिकारीहरुले जवाफ दिएका थिए ।
वडा सदस्य पार्वती लामिछानेले संस्थाले बालमैत्री वडा बनाउन खेलेको भुमिका महत्वपूर्ण रहेको बताईन । कार्यक्रममा बाल क्लब, किशोरी क्लबका पदाधिकारी, जनप्रतिनिधि, अभिभावक, शिक्षक स्वास्थ्यका कर्मचारी, स्वयंसेवीका, प्रहरी पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।





















