सिन्धुली । कमलामाई सामुदायिक वन उपभोक्ता समूह सिन्धुलीको ३७ औं बार्षिक साधारणसभा कनपा ५ कारागारमा रहेको सामुदायिक भवनको हलमा शनिबार सम्पन्न भएको छ ।
सामुदायिक वनका अध्यक्ष गणेश बहादुर क्षेष्ठको अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ३ नं. प्रदेशका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा समितिका सचिव देवकी श्रेष्ठले प्रगति प्रतिवेदन पेश गरेकी थिइन भने कोषाध्यक्ष विनोद मोक्तानले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै आयमूलक प्रतिवेदन आयमूलक समितिका अध्यक्ष गौरी श्रेष्ठले प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण कुमार श्रेष्ठले उपभोक्तालाई वनको क्षमता बढाउन सुझाव दिएका छन । सामुदायिक वनमा रुखहरु नहुने र काठको माग बढिरहेको बताउँदै उनले वनको संरक्षणमा लाग्न उपभोक्तालाई आग्रह गरेका हुन । उनले सामुदायिक वनलाई परेका अप्ठ्यारामा सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले सामुदायिक वनले महिला सहभागिता र नेतृत्वको विकास र आयआर्जन वृद्धिको काम गर्नुपर्नेमा जोड दिइन । उनले महिलालाई सिकाई पहिलो स्थान वन भएकाले यसको भरपुर उपयोग गर्न आग्रह समेत गरिन । प्राकृतिक श्रोतमा महिला तथा विपन्न वर्गको पहुँच पुराउने अभियान सामुदायिक वन अभियान भएको बताउँदै उनले वनलाई जोगाउन समेत सुझाव दिईन ।
कार्यक्रममा कनपा ५ का वडाध्यक्ष पूर्ण बहादुर खड्का, सिद्धेश्वर वन कार्य क्षेत्रका सितल माझी लगाएतले वन संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । साधारणसभाले कार्यक्रममा प्रस्तुत भएका प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आयआर्जन प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । कार्यक्रमको सञ्चालन समितिका छविलाल श्रेष्ठले गरेका थिए ।




















