सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । बुधबार आयोजनाको बाँधतर्फ सुनकोशीको कानढुंग्रीमा प्रधानमन्त्री प्रचण्डले सुरुङको ब्रेक थ्रु गरेका छन ।
तराईका ६ जिल्लामा सिंचाई पु¥याउने र विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण गरिएको आयोजनाको सुरुङ निर्माणको काम बुधबार सकिएको हो । निधारित समय भन्दा ३ महिना अघि नै सुरुङ निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन । ब्रेक थ्रु का लागि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आयोजना निर्माणले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा बोल्दै समय अगावै सुरुङ निर्माणको काम सकिए जस्तै ड्याम निर्माण र अन्य निर्माणका काम पनि समयमा सक्न प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिए । यस्तै दाहालले खुर्कोट चियावारी सुरुङ मार्ग निर्माणमा समेत सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणमा प्रयोग भएको टिविएम मेसिन प्रयोग गरि काम गर्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सुरुङ मार्गले नेपालमा विकासका आयामहरु थपिएको बताए । सुरुङमार्गले नेपालका पुर्वाधार निर्माणका कामसँगै आर्थिक विकासको महत्वपूर्ण सूचक पुरा गरेको बस्नेतले दावी गरे ।
सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पु¥याई सिंचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।
तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाई पु¥याउने आयोजनाको उद्देश्य हो । हाल बागमती सिंचाई आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।
सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ चाईना ओभरसिज इन्जिनयरिङ (कोभेक) ले निर्माण गरेको हो । ४९ अर्ब ४२ करोड रुपैंया लागतमा सम्पन्न हुने आयोजनाको सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो । यस्तै बाँध तथा विद्युत् गृह निर्माणको काम पटेल रमण जेभिले काम गरिरहेको छ ।





















