सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले नगर क्षेत्रभित्रका ६ हजार एक सय ३३ बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्न लागेको जनाएको छ । नगरभित्र रहेका सबै सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बालविकासदेखी कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गर्न लागिएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बताए ।
बालबालिकाले अब प्रति विद्यार्थी प्रतिदिन १५ रुपैयाँका दरले खाजा खान पाउने भएका छन । कमलामाई नगरपालिकाको नगर शिक्षा समितिको गत भाद्र १९ गते बसेको बैठकले नगर भित्रका बालबालिकाहरुलाई हरेक दिन दिवा खाजा खुवाउने व्यवस्था मिलाएको हो । पूर्व प्रावि तहका ८ सय र प्रावि तहका ५ हजार ३ सय ३३ जना बालबालिकाहरुलाई खाजा खुवाउन लागिएको उनले बताए ।
नगरले विद्यार्थीहरुका लागि दैनिक ९१ हजार ९ सय ९५ रुपैयाँको खाजा खुवाउने छ । नगरभित्रै रहेका विद्यालयहरु पनि एक घण्टादेखी तिन घण्टासम्म पैदल हिडेर विद्यालयमा अध्ययनका लागि बालबालिकाहरु जानु पर्ने बाध्यता भएको र बालबालिकाहरु भोकभोकै पढ्नु पर्ने बाध्यतालाई अन्त्य गर्न दिवा खाजाको व्यवस्था गर्न लागिएकोे खत्रीले बताए ।
सामुदायिक विद्यालयमा खाजाको व्यवस्था नहुँदा विद्यालय भर्ना हुने उमेर समुहका अधिकांश बालबालिकाहरु विद्यालय बाहिर रहेकाले यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । निःशुल्क भर्ना, निःशुल्क पाठ्यक्रम र छात्रवृद्धि मार्फत निःशुल्क विद्यालय पोषाक समेत वितरण गर्दै आएको सरकारले जिल्लाका बालबालिकाहरुलाई यस अघि दिवा खाजाको प्रबन्ध गरेको थिएन ।
नीजि विद्यालयमा पढाउन नसक्ने र निजी विद्यालयमा जाने बालबालिकाहरुलाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न यस्तो खाजाको व्यवस्थापन गरिएको खत्रीको दावी छ ।
नगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अंग्रेजी माध्यममा पठनपाठन गर्ने, भौतिक पूर्वाधारमा सुधारका साथै सबै शिक्षकहरुलाई अनिवार्य विद्यालय पोशाक र डिजिटल मेसिनमा हाजिर गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ । यस्तै नगरपालिकाले विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुसंग पठनपाठनका लागि कक्षा कोठमा वेतित गरेको समय गणना गर्न र विद्यार्थीको लगबुक अनिवार्य कायम राख्न समेत निर्देशन दिएको छ ।



















