सिन्धुली । स्थानीय सरकार र नागरिक समाजबीच केहि मतभेद र तालमेल नमिलेको जिल्ला स्थित नागरिक समाजका अगुवाहरुले आरोप लगाएका छन । उनीहरुले आपसी सहकार्यका लागि वातावरण तयार गर्न स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका लागि अवसर र चुनौती’ विषयक अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार, मानवअधिकारबीचमा भएको कार्यक्रममा सहजीकरण गर्दै गैसस महासंघ सिन्धुलीका अध्यक्ष बेदराज दाहालले स्थानीय सरकारले गैससहरुलाई उचित समन्वय, नियमन र काम गर्ने वातावरणको सृजना गरि विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह सरकार सञ्चालन, कानुन निर्माण लगाएतका विषयमा नयाँ भएकाले पनि गैेससहरुलाई काम गर्न सहज नभएको बताए ।
नागरिक समाजसँगको सहकार्यले विकासलाई सहज बनाउने बताउँदै उनले स्थानीय सरकारले यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले नीजि क्षेत्रले नागरिकलाई सहज रुपमा सेवा दिने विषयमा स्थानीय सरकार र स्थानीय सरोकारवालासँग मिलेर काम गर्न तयार रहे पनि तालमेल मिल्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ ३ नं. प्रदेशका सचिव राजन गाउँलेले गैसस र स्थानीय सरकारबीच विश्वासको वातावरण बन्न नसकेकाले विकासमा बाधा पुगेको बताए । यस्तै अधिकारकर्मी सविता कोइरालाले नागरिक समाजका हिजोका कामलाई मुल्यांकन गर्दै सहकार्यमा स्थानीय सरकार खुला हुनपर्नेमा जोड दिईन ।
यसैगरि कार्यक्रममा बोल्दै स्थानीय तहको तर्फबाट बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नागरिक समाज र स्थानीय सरकारबीच विश्वासको संकट भएकाले साझेदारीमा समस्या आएको स्वीकार गरेका छन । उनले नगरपालिकाले नागरिक समाज र स्थानीय सरकारबीचको दुरी कम गरि विकासमा साझेदारी, पारदर्शिता र जवाफदेहिता कायम गर्न प्रयास गरिरहेको समेत दावी गरे ।
यस्तै तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले नागरिक समाजसँगको सहकार्यमा समेत व्यक्ति र राजनीति हावी भएको बताए । उनले असल र खराब छुट्याएर काम गर्ने वातावरण नभएसम्म पारदर्शिता र स्वतन्त्त छानविन सम्भव नभएकाले पनि नागरिक समाज र स्थानीय सरकारबीच दुरी बढेको बताए । कार्यक्रममा बोल्दै उनले स्थानीय विकासका लागि असल नागरिक समाजसँग व्यवस्थित सहकार्य जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य गंगा कार्कीले आर्थिक समृद्धिका लागि गैसस र सरकारबीच सहकार्य जरुरी रहेको बताईन । यस्तै कार्यक्रममा बोल्दै फिक्कल गाउँपालिकाका कार्यपालिका सदस्य खड्ग बहादुर सुनुवारले विकासमा स्थानीय सरकारलाई एक्लै हिड्न चुनौती भएको बताउँदै नागरिक समाजसँगको सहकार्य अवसरका रुपमा लिनुपर्ने बताए । नागरिकका आवश्यकता पुरा गर्न स्थानीय सरकारलाई गाह्रो भएको बताउँदै उनले गैससको सहयोग आवश्यक रहेको बताए । समाजसेवी तथा जेष्ठ नागरिक राम बहादुर हायुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेले विषयवस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले गरेकी थिइन ।























