सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको साठी दिनदेखि अवरुद्ध भएको सुरुङ निर्माणको काम सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ ।
बिगत ६० दिनदेखी अबरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रुपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन । महाभारत श्रृङ्खलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोहि अवस्थामा भूमिगत पानीको संयोजनका कारण आएको पहिरोले टिविएम मेसिन जाम भएपछि अवरुद्ध सुरुङ निर्माण कार्य सुरु भएको उनले बताए ।
सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि ६० दिनदेखि १० दशमलब ५४४ किलोमिटरमा सुरुङ निर्माणको काम रोकिएको थियो ।
आयोजना प्रमुख बरालका अनुसार रविन्स अमेरिका, कोभिक चाईना र स्मेक अष्ट्रेलियाका विज्ञ प्राविधिक टोली र आयोजना स्थलमा रहेका स्वदेशी तथा विदेशी प्राविधिक तथा विज्ञ टोलीको संयुक्त प्रयासबाट आयोजनाको सुरुङ निर्माण कार्य सुचारु गरिएको छ ।
आयोजनाको सुरुङ निर्माण यो पटक सबैभन्दा लामो समय अवरुद्ध भएको हो । यस अघि तेस्रो पटक ९ दशमलब २२७ किलोमिटरमा ५६ दिन काम अवरुद्ध भएको थियो । भौगर्भिक समस्याले गर्दा निर्माण क्रममा यो छैटौं पटक काम अवरुद्ध भएको हो ।
वाईपास निर्माण गरि हिलो, पहिरो पन्छाएर आयोजनाको काम सुचारु गरिएको छ । काम सुचारु गरि १० दशमलब ६६३ किलोमिटर सुरुङ खनिएको समेत बरालले जानकारी दिए ।
टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ ।
यस्तै आयोजनाको बाँध निर्माणको काम समेत सुरु भएको छ भने पावर हाउस निर्माण मरिण नदी तटबन्धन लगाएतका काम समेत भईरहेको छ ।




















