सिन्धुली । उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले बहिरा विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि दुग्धजन्य पदार्थबाट निर्मित परिकार बनाउने तालिम दिएको छ । कमलामाई नगरपालिका वडा नं. ५ मा उक्त तालिम दिईएको हो । महाभारत दुग्ध उत्पादक सहकारी संस्थासँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
महाभारत दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् कोशेली डेरी उद्योगका सञ्चालक नवराज गजुरेलले उक्त तालिमको सहजकीकरण गरेका छन । तालिममा नवज्योति बहिरा मावि जसेदमारका कक्षा ११, १२ मा अध्ययन गर्ने १५ जना बालबालिकाले तालिम लिएका छन ।
तालिममा दुध उत्पादन, प्रशोधन तथा परिकार निर्माणको चरणसम्मको सिप उनीहरुलाई दिईएको तालिमको समापनको अवसरमा प्रशिक्षक नवराज गजुरेलले बताए । उनीहरुलाई छुर्पी, पेडा, खुवा, पुष्टकारी, घिउ लगाएतका सामग्री उत्पादन गर्ने सिप दिइएको छ । १ गतेदेखि सुरु भएको तालिमको विहिबार समापन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख धु्रव ढकालको अध्यक्षता एवम् कनपा ६ का वडाअध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जल थापाको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम गरिएको हो ।
तालिमको समापनमा बोल्दै प्रमुख अतिथि थापाले अपांगता भएका बालबालिका र युवाहरुलाई आयआर्जनमा जोड्न वडाले सक्दो भूमिका खेल्ने बताए । उनले वडाको नीति कार्यक्रममा अपांगता भएका बालबालिकालाई प्राथमिकता दिईने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले अपांगता भएका बालबालिकाका व्यवसायलाई प्रवद्र्धन गर्न प्रचार प्रसारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै नवज्योति बहिरा स्कुलका प्रधानाध्यापक विजय लामाले बहिरा बालबालिकालाई उपकरण सहयोग गरि व्यवसाय सञ्चालनमा सहयोग गर्न जनप्रतिनिधि, उद्यमी, सरकारी निकाय सबैलाई अनुरोध गरे ।
कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो भने बालबालिकाले अतिथिहरुलाई तालिमका अवसरमा उत्पादित परिकार उपहारस्वरुप प्रदान गरेका थिए । तालिममा उत्पादित सामग्रीहरु समापनका अवसरमा प्रदर्शनी गर्नुका साथै पचास प्रतिशत छुटमा विक्री समेत गरिएको थियो ।