सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवम प्रतिनिधिसभा सदस्य सुवास नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन । उनले नेम्बाङ पार्टी दायरा भन्दा बाहिर समेत लोकप्रीय, संयम नेता भएको बताउँदै शान्ती प्रक्रिया टुंगोमा पु¥याउन आवश्यक नेता रहेको बताए ।
प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेका पत्रकार सम्मेलनको सुरुवातमा नै उनले नेम्बाङप्रति श्रदाञ्जली व्यक्त गर्दै वर्तमान परिस्थितिमा नेपाली राजनीतिलाई आवश्यक व्यक्ति रहेको बताए ।
उनले एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङ एमालेभित्र मात्र नभई सबै पार्टीका मान्छेले मन पराएका पात्र भएको बताउँदै वर्तमान राजनीतिक परिस्थितिमा उनको अभाव खड्किएको बताए ।
शर्माले नेपाली राजनीतिमा संयमता अपनाउनुपर्ने बेला झनै आएको बताउँदै नेम्बाङको आकस्मिक निधनले राजनीतिक क्षेत्रमा ठूलो क्षती पुगेको बताए ।
सरकार परिवर्तन हुदैन
शर्माले पत्रकार सम्मेलनमा बोल्दै तत्काल सरकार परिवर्तन नहुने पनि बताए । नेपाली कांग्रेस सिन्धुलीका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए ।
उनले भने, ‘हाम्रो सरकार बनाउने संसदको अंकगणित पुग्ने भए नेपाली कांग्रेसले आफै सरकार बनाउँथ्यो, दोस्रो दलको नेतृत्वमा बस्दैनथ्यो । एक्लै सरकार चलाउन सक्ने अवस्था नभएकाले वर्तमान सरकारलाई नै साथ दिएर सहकार्य कायम राख्छ ।’
नेपाली कांग्रेसले तत्काल सरकार बनाउने विषयमा नसोंचेको उनले बताए । ‘नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्नुपर्छ, कमजोरी केलाउनुपर्छ र सरकारलाई साथ दिनुपर्छ तर नेपाली कांग्रेसले सरकार परिवर्तन गर्न तत्काल सोंच्ने बेला भएको छैन,’ शर्माले भने ।
नेपाली कांग्रेसका कार्यकर्ताबाट तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिईरहेको भए पनि सरकार परिवर्तन नहुने उनले बताए ।
कुनै पनि दलले एकल सरकार बनाउने अवस्था संसदमा नरहेको उनले बताए । ‘सरकारले भ्रष्टाचारका फाईल खोलेको छ, भ्रष्टाचारको अनुसन्धानलाई सघाएर कांग्रेस अगाडि बढ्नुपर्छ,’ उनले भनेको छन ।





















