सिन्धुली । नेपाली कांग्रेसका नेतृ एवम प्रतिनिधिसभा सदस्य शुशिला थिङले नीति निर्माणमा महिलाका सवाललाई प्राथमिकतामा राख्न ध्यान दिने प्रतिवद्धता व्यक्त गरेकी छिन । उनले नीतिकै कारण महिलाहरु नीति निर्माणका तहमा पुग्न सफल भएको बताउँदै उनले आफुले सक्दो महिलाका सवाललाई कानुनी रुपमा स्थापित गर्न प्रयास गर्ने बताईन ।
कमलामाई नगरपालिका सिन्धुलीले आयोजना गरेको हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थिङले यस्तो बताएकी हुन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले पीडित महिलाहरुका सवालमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिईन । उनले महिलाहरुलाई गरगहना नभई राम्रो काम गरेर आभुषण पहिरिन आग्रह गरेकी छिन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तीजलाई एकता, सद्भाव र सशक्तिकरणको पर्वका रुपमा मनाउन आग्रह गरेकी छिन ।
कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मरिण गाउँपालिकाका उपप्रमुख बिमला माझी, न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डे, नेकपा एसका केन्द्रीय सदस्य शान्ता पाख्रिन, अखिल नेपाल महिला संघका स्थायी कमिटि सदस्य मिथिला फुयाँल, नेपाल शिक्षक संघका बाग्मति प्रदेश सदस्य यशोदा कोइराला, नेपाल महिला संघका जिल्ला अध्यक्ष गंगा दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अभिलाषा कोइराला लगाएतले शुभकामना व्यक्त गरेका थिए ।





















