सिन्धुली । जिल्लाबाट सरकारी निकायमा अनियमितता भएको भन्दै एक महिनामा ४९ उजुरी अख्तियारमा परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा चालु आर्थिक वर्षको एक महिना अर्थात साउन महिनामा स्थानीय तहको अनियमितता विरुद्ध अत्यधिक उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

अख्तियारमा परेका उजुरीमध्ये ४१ ओटा उजुरी स्थानीय तहको भएको तथ्य सिन्धुलीमाढीमा भएको एक कार्यक्रममा शुक्रबार सार्वजनिक गरिएको हो ।
आयोगले सिन्धुलीमाढीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्र्तक्रिया कार्यक्रममा उक्त कुरा जानकारी दिएको हो । कार्यक्रममा अख्तियार कार्यालयका उपसचिव एवम् सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले स्थानीय तहको उजुरी बढ्दै गएको बताए ।
परेका उजुरीमध्ये एकवटा उजुरी मात्रै फस्र्यौट भएको छ भने अन्य उजुरी अनुसन्धानकै क्रममा रहेको हुमागाईंले बताए । फस्र्यौट भएको उजुरी कमलामाई नगरपालिकाको रहेको छ । कमलामाई नगरपालिकाको ४ ओटा उजुरी परेको थियो । भ्रष्टाचारसँग सम्बन्धित उजुरी पर्ने स्थानीय तहमा तीनपाटन गाउँपालिका र गोलञ्जोर गाँउपालिका रहेका छन । तीनपाटनको ९ वटा, गोलञ्जोर गाउँपालिकाका ८ वटा उजुरी परेका छन ।
यस्तै दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिकाका चार चारवटा उजुरी परेका छन भने फिक्कल गाउँपालिकाको ३, सुनकोशी गाउँपालिकाको १ वटा उजुरी परेको आयोगले जनाएको छ ।
उनका अनुसार अख्तियारमा पर्ने उजुरीमा ८० प्रतिशत उजुरी स्थानीय तहको हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा गत आर्थिक वर्षको ११ सय ४७ उजुरी परेका थिए भने चालु आर्थिक वर्षको साउन मसान्तसम्म ३ सय १३ वटा उजुरी परेका छन । परेका उजुरी मध्ये १ सय १३ उजुरी मात्र फस्र्यौट भएको उनले बताए ।




















