सिन्धुली/भद्रकाली अटोकप खुला फुटवल प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा जरायोटार युवा क्लब र सिन्धुली एकेडेमी विजयी भएका छन । सिन्धुलीमाढीको खुलामञ्चमा भएको पहिलो खेल सिन्धुली एकेडेमी र वर्द बहादुर गणबीच भएको थियो । उक्त खेलमा १–० गोल अन्तरले सिन्धुली एकेडेमीले विजयी हासिल गरेको छ ।
यस्तै बुधबार नै सम्पन्न दोस्रो खेलमा जरायोटार युवा क्लब र विहानी युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाको समय अवधिभर दुवै टिमले गोल गर्न नसकी बराबरीमा खेल सकिएपछि पेनाल्टी पाएका थिए । पेनाल्टीमा जरायोटार युवा क्लबले ४–२ गोलअन्तरमा विहानी युवा क्लबलाई पराजित गरेको थियो ।
भदौ १ गतेदेखि सुरु भएको खेलको फाइनल खेल शुक्रबार विहान १० बजेदेखि हुनेछ । फाइनल खेलमा जरायोटार र सिन्धुली एकेडेमीले पहिलो र दोस्रोका लागि प्रतिस्पर्धा गर्ने छन भने विहानी युवा क्लब र वर्द बहादुर गणले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन । सोहि दिन नै विजेताहरुलाई पुरस्कृत समेत गरिने भद्रकाली यातायात प्रा.लिका अध्यक्ष रेखा गौतमले जानकारी दिएकी छिन ।



















