सिन्धुली । कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने पाँच जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ ।
भगवति मावि माढीबजारले उत्कृष्ट अंक ए प्लस नतिजा ल्याउने विद्यालयका ५ जना छात्रालाई जनहि २५ हजार नगद सहित सम्मान गरेको हो । विद्यालयका अध्यक्ष सञ्जय कुमार दाहाल, प्रधानाध्यापक कृष्ण उप्रेती र आर्थिक व्यवस्थापन प्रमुख रमाकान्त सुवेदीले संयुक्त रुपमा सम्मान गरेका हुन ।
भगवति माविका छात्राहरु अञ्जली पण्डित, निश्चला खड्का, अप्सरा श्रेष्ठ, सन्ध्या श्रेष्ठ र निर्जला कार्कीलाई विद्यालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमध्ये अञ्जली, निश्चला र अप्सराले ३ दशमलब ७५ जिपिए ल्याएका थिए भने सन्ध्याले ३.६४ र निर्जलाले ३.६२ जिपिए ल्याएका छन ।
उनीहरुसँगै विद्यालयले ए ग्रेड ल्याउने विद्यार्थीहरुलाई समेत खादा ओढाएर सम्मान गरेको छ । भगवति माविबाट कक्षा १२ को परीक्षामा सम्मिलित २८ जना विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका थिए । जसमा ५ जनाले ए प्लस, १२ जनाले ए र ११ जनाले वि प्लस ग्रेड ल्याएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण उप्रेतीले महंगो शिक्षाका लागि काठमान्डौ नधाउन र संस्कार सहितको शिक्षा लिन भगवतिमा आउन सबैलाई आग्रह गरेका छन ।





















