सिन्धुली । शुक्रबार मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडक खण्डको लौकुनबाट सुनकोशी नदीमा खसेको सिटिईभिटीको गाडी अझै भेटिएको छैन । गाडीमा सवार तीनजना कर्मचारी पनि अझैसम्म वेपत्ता छन । पाँचौ दिन पनि उद्धारको काम भईरहेको छ । गोताखोर, जेसिवी, क्रेन लगाएतको प्रयोग गरिरहेको छ । तै पनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।
शनिबारदेखि नदीको बाटो मोड्न प्रयास गरिरहेको भए पनि सोमबार साँझ बाढी आएपछि त्यो पनि असम्भव भएको छ । मंगलबार विहानैदेखि पुनः खोजी कार्य जारी राखिएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जादैँ गरेको विएवि ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नं. ७ को लौकुनबाट शुक्रबार विहान ११ बजे सुनकोशी नदिमा खसेको थियो ।
गाडीमा रहेका ३ जना बेपत्ता भएका छन् भने चालक कृष्ण बहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार नदी एकीकृत भई गहिरिएको ठाउँमा गाडी झरेकाले भेट्टाउन सकिएको छैन ।
गाडी पुरै डुबेको र नदेखिएकाले कहाँ छ भन्ने कुरा नै एकीन गर्न नसकिएको उनले बताए । उनका अनुसार गाडीमा सिटिईभिटीका प्रशासन शाखाका निर्देशक कृष्णबहादुर के.सी, निर्देशक, योजना महाशाखाका निर्देशक यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक एवम् प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । उनीहरुको अवस्था पनि अज्ञात छ ।
सुनकोशीको पानी रामेछाप पट्टीबाट बाटो मोड्न (तर्काउन) का लागि चारवटा स्काइभेटर, तीनवटा जेसीबी, डोजर, पाँचवटा टिपर र ट्य्रााक्टर लगाएतका उपकरणको परिचालन गरिएको छ ।
साथै गोताखोरका चारवटा बोट निरन्तर परिचालन गरिएको छ । उक्त प्रयास अझै सफल नभएको निरन्तर उद्धार कार्यमा खटिएको वाग्मति प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् एमाले नेता प्रदीप कुमार कटुवालले बताए ।






















