सिन्धुली । लामो समयदेखि गर्मि बढेर जीवन कष्टकर बन्दै गएपछि दुधौलीको डकाहामा भ्यागुताको विवाह गरिएको छ । पानीको पुकार गर्दै दुधौली नगरपालिका वडा नं. ४ डकाहाका स्थानीयले सोमबार एक जोडी भ्यागुताको विवाह गरिदिएका हुन ।
उनीहरुले भ्याुगताको विवाह गरेमा इन्द्र देवता खुशी भई पानी पारिदिने जनविश्वास रहेका कारण भ्यागुताको विवाह गराईदिएको बताएका छन । अत्यधिक गर्मि बढेसँगै खेतिबाली, बोटविरुवा, पानीका मुहान सुक्न थालेका कारण पानीको माग गर्दै स्थानीयले भ्यागुताको विवाह बैदिक विधिपूर्वक गराएका छन । ब्राह्मण सहित करीब ३० जना जन्ती लगि भ्यागुतालाई बेहुला बेहुली जस्तै सिंगारि विवाह गराएका हुन । विवाह सकिएपछि एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई कमला खोलामा डोलीमा बोकेर पु¥याएर बगिरहेको पानीमा छोडिदिएका थिए ।
भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाई ब्राह्मणहरूले वैदिकमन्त्र पाठ तथा रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिएको हो । ध्यू, चामल, जौँ, तिलको होमादी गरिएको स्थानीयले बताएका छन ।
विवाहमा सरिक स्थानीयले हलुवा र आलुको तरकारीको भोज समेत खाएका छन । भोजभतेर बाहेक विवाहमा एक हजार दुई सय रुपैयाँ खर्च भएको उनीहरुले बताएका छन । जिल्लाकै अत्यधिक गर्मि हुने कमलाखोंच क्षेत्रको दुधौलीमा एकसातादेखि ३९,४० डिग्रीको हाराहारीमा तापक्रम बढेको गुगलमा देखिएको छ ।
सिन्धुलीको सिन्धुलीमाढीमा ३७ देखि ३८ डिग्री तापक्रम मापन भएको छ । जिल्लाका जानकारहरुका अनुसार यो वर्ष चारदशक पछिकै अत्यधिक गर्मि हो ।





















