सिन्धुली । सिन्धुली अस्पतालमा डाक्टरहरुको अनियमित सरुवा र विना जानकारी विशेषज्ञको अनुपस्थितिले सिन्धुली अस्पतालको विशेषज्ञ डाक्टर नभएपछि सिन्धुली अस्पतालको सम्बन्धित सेवा सञ्चालनमा समस्या भएको छ । सिन्धुली अस्पतालमा पाँच दिनदेखि ५ जना विशेषज्ञ विना जानकारी अनुपस्थित भएपछि अस्पतालले सेवा प्रभावित भएको भन्दै विज्ञप्ती नै जारी गरेको छ ।
अस्पताल व्यवस्थापनले पाँच दिनदेखि एमडिजपि २ जना, इन्टरनल मेडिसिन १ जना, छालारोग विशेषज्ञ १ जना, स्त्रीरोग विशेषज्ञ १ जना अस्पतालमा विना जानकारी अनुपस्थित हुदा अस्पतालको सेवा प्रभावित बनेको सिन्धुली अस्पतालको व्यवस्थापनले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले पछिल्लो समय अस्पतालका विशेषज्ञ डाक्टरहरुको समय अगावै सरुवा गर्ने गरेको जनाएका छन । उनले नागरिकको स्वास्थ्य सेवा पाउने आधारभूत सेवा पाउन समेत कठिनाई भएको प्रेस विज्ञप्ती मार्फत जनाएका छन ।
उनले पटक पटक मन्त्रालयमा आग्रह गर्दा समेत सुनुवाई नभएको र निर्वाचन आचारसंहिता लागु भईसकेपछि डाक्टरहरुको सरुवाले नागरिकको स्वास्थ्य सेवा पाउन कठिनाई भएको बताएका छन ।
अध्यक्ष पोखरेलले सिन्धुली जिल्लाका आधारभूत तहका नागरिकलाई स्वास्थ्य अधिकार स्थापित गर्न आफुले जुनसुकै मुल्य चुकाउन तयार रहेको बताउँदै जिल्लाका पत्रकार, राजनीतिक दल र आम समुदायलाई सहयोग गर्न अनुरोध समेत गरेका छन ।




















