सिन्धुली । मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाबाट उमेदवारी दर्ता गराएका ७ जना उमेदवारले आफुलाई आफै भोट हाल्न नपाउने भएका छन ।
भोट हाल्न नपाउनेमा गठवन्धन दलका दुई उमेदवार र अन्य साना दलका पाँच जना रहेका छन । यसरी आफुले आफैलाई भोट हाल्न नपाउने उमेदवारमा सत्ता गठवन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका उमेदवार क्षेत्र बहादुर बम्जन र सत्ता गठबन्धनबाटै उमेदवार बनेका जनता समाजवादीका उमेदवार गंगा नारायण श्रेष्ठ हुन ।
बम्जन प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ (क) का उमेदवार हुन भने श्रेष्ठ प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) का उमेदवार हुन । बम्जनको नामावली प्रदेशसभा क्षेत्र नम्वर २ (ख) मा रहेको छ । श्रेष्ठको मतदाता नामावली क्षेत्र नम्बर २ (क) सिलामे मतदान केन्द्रमा रहेको छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट उमेदवार बनेका अधिकांश उमेदवारहरु आफुलाई भोट हाल्न नपाउने मात्र नभएर यस जिल्लाका नागरिक समेत नभएका व्यक्तिहरु रहेका छन । नेमकिपाबाट उमेदवार बनेकाहरु अधिकांश भक्तपुर नगरपालिकाका रहेका छन ।
नेमकिपाबाट निर्वाचन क्षेत्र नं. २(क) मा भक्तपुर ९ की रामेश्वरी कोजुको उमेदवारी छ भने निर्वाचन क्षेत्र नं. २(ख) मा भक्तपुर ७ का उमेदवार लक्ष्मण ग्वाछाको उमेदवारी छ । यस्तै नेमकिपाबाटै प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(क) बाट उमेदवार बनेका भक्तपुर ७ का कृष्णसुन्दर मचामसी र प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(ख) बाट उमेदवार बनेका भक्तपुर ७ का राजाराम बासीले पनि आफैलाई मतदान गर्न नपाउने मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैगरि प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २(ख)बाट उमेदवार बनेका टलक बहादुर कार्कीले पनि आफुलाई मत हाल्न नपाउने भएका छन । उनको मतदाता नामावली सिन्धुलीकै निर्वाचन क्षेत्र नं. १(ख) मा रहेको छ ।




















