सिन्धुली । कमलामाई नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि र उद्यमशिलतालाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाको शुक्रबार सिन्धुलीमाढीमा भएको नगरसभामा नगरप्रमुख उपेन्द्र पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र उद्यमशिलतामा नगरपालिकाले नगरपालिकामा ५ कठ्ठा भन्दा बढी जग्गामा अर्गानिक तरकारी खेति गर्ने किसानलाई सहुलियत ऋण तथा जग्गा प्राप्तीका लागि सहयोग गर्ने, नगर क्षेत्रमा उत्पादन हुने फलफूलहरुको उत्पादनमा जोड दिइने, नगर क्षेत्रमा उत्पादित अदुवाको बजारको सुनिश्चित गर्ने कार्यक्रम ल्याएको छ ।
यस्तै नगरपालिकाले माछा र अण्डा उत्पादनमा जोड दिने भएको छ । नगरपालिकाले कृषिलाई प्रवद्र्धन गर्न र किसानका समस्या सुन्नका लागि उपप्रमुखसँग कृषक भेटघाट कार्यक्रम समेत गरेको छ ।
यस्तै नगरपालिकाले आगामी वर्षको कार्यक्रममा उद्यमीहरु लक्षित कार्यक्रम समेत ल्याएको छ । युवा स्वरोजगार कार्यक्रमलाई नगरपालिकाले आगामी वर्षमा निरन्तरता दिने भएको छ ।
विदेशबाट फर्केका युवाहरुको सिपलाई प्रयोग गरि व्यवसाय गर्न चाहने युवाहरुलाई विना धितो ऋण दिने, ढाका उद्यमीलाई अनुदान सहयोग गर्ने लगाएतका कार्यक्रम ल्याएको छ ।




















