सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ सानो करकरेकी सनमाया तामाङले भत्ता पाउन थालेको २०७८ मंसिर देखि हो । उनले जेष्ठ नागरिक भत्ता पाउने गरेकी छिन । दोस्रो किस्ताको २ महिनाको रकम उनले ८ हजार पाईन । तेस्रो किस्ता रकम पनि उनले आठ हजार नै पाईन । वडा नम्बर ५ को भत्ता वितरण गर्दै आएको बैंक राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखामा चेक र भत्ताको कार्ड बोकेर गएकी सनमायालाई बैंकले ८ हजार मात्र पैसा आएको भन्दै ८ हजार दियो । उनीसँगै गएका उनका गाउँका जेष्ठ नागरिकले भने तेस्रो किस्तामा १२ हजार रुपैंया भत्ता लिए ।
उनको सामाजिक सुरक्षा भत्ता पाउने कार्डमा पनि वडा कार्यालयले ८ हजार रकम भत्ता जनाएको थियो । उनले भनिन, मसँगै गएको मान्छेले १२ हजार भत्ता पायो, मेरो किन ८ हजार मात्र ? बुझिदिनुस न । उनले वडा कार्यालयले नै आफ्नो पैसा पुरै नदिएको आरोप लगाईन । ‘हाम्रा लागि काम गर्छौं भने, हामीले भोट हालेर जितायौं, हाम्रै भत्ता खाए,’ उनको गुनासो जनप्रतिनिधिप्रति लक्षित थियो । यता नगरपालिकाको सामाजिक सुरक्षा शाखाले भने बैंकलाई १२ हजार रकम खातामा हालेको देखिन्छ ।
सोहि वडाका भिममाया बम्जन विधवा महिला हुन । श्रीमानको मृत्युपछि उनले विधुवा भत्ता लिने गरेकी हुन । सानो झुपडीमा पूर्ण अपांग छोरीको स्याहार गरेर बसेकी उनको हातमुख जोड्ने साहारा नै सामाजिक सुरक्षा भत्ता हो । उनले पनि सरकारले भत्ता कटाएको गुनासो गरिन । भत्ता पाउँदै आएको कार्ड ल्याएर तेर्साइन र भनिन । मेरो भत्ता कति हो ? कहिले थोरै दिन्छ कहिले कति । भिममायाको सामाजिक सुरक्षा भत्ताको कार्डमा पनि मनपरी पैसा लेखिएको पाईयो । पहिलो किस्तामा २ थरी अंक लेखिएको देखियो । एउटै कोलममा १२ हजार र ७ हजार ९ सय लेखिएको छ । दोस्रो किस्ता ९ हजार र तेस्रो किस्ता ७ हजार ९ सय । ‘कुन चाहिं हो त मैले पाउने भत्ता ?’ उनको प्रश्न थियो । ‘मैले पढे लेखेको छैन । मलाई नै सरकारले ठग्छ,’ उनले भनिन ।
यो सँगै उनले आफ्नी पूर्ण अपांगता भएकी छोरी लक्ष्मी बम्जनको भत्ताको कार्ड ल्याईन । ‘यो पनि हेर्दिनुस न’ भनिन । उनको कार्डमा पनि अभिलेख चुस्त देखिएन । पहिलो किस्ता १२ हजार, दोस्रो किस्ता ११ हजार ९ सय र तेस्रो किस्ता १२ हजार पाएको देखियो ।
कमलामाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाले आफुहरुले वडाबाट अध्यावधिक भएर आएको विवरणका आधारमा तीन तीन महिनाको रकम बैंकलाई पठाउने गरेको जनाएको छ । सोहि अनुरुप भत्ताको विवरण पठाईएको शाखाका एमआईएस अपरेटर भानुभक्त श्रेष्ठले बताए । उनका अनुसार वडाले अध्यावधिक गरि पठाएको विवरणका आधारमा नगरपालिकाले सम्बन्धित बैंकलाई रकम उपलब्ध गराउँछ र बैंकले भत्ता वितरण गर्छ ।
कमलामाई नगरपालिकाले ११ वटा बैंकलाई भत्ता वितरणको जिम्मा दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले कनपा ५, १३ र १४ का लाभग्राहिको सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले स्थानीय तह मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ताको अभिलेख नै चुस्त दुरुस्त नराखेको पाईएको छ । उनीहरुमा लाभग्राहिको कार्डमा अभिलेख जनाउने कसले भन्नेमै अन्यौलता देखिएको छ । ‘बैंकले कार्डमा लेख्न नभ्याउने भन्छ, वडाले र सामाजिक विकास शाखाले त्यो काम गर्दैन,’ श्रेष्ठले भने । उनले सामाजिक सुरक्षा कार्डमा कति भत्ता पाउने हो त्यो रकम किस्ता अनुसार नै उल्लेख हुनुपर्नेमा भने नकार्न सकेनन ।
कनपा ५ का वडा सचिव उज्जलविक्रम थापाले अभिलेखमा जनाईदिने काम वडाको नभएको बताए । उनले भने, ‘वडाले लिस्ट बनाएर पठाउने हो । कार्डमा लेख्ने काम हैन । र कुनै पनि वडाले लाभग्राहिको कार्ड भर्दैनन ।’
के भन्छ त बैंक ?
कमलामाई नगरपालिका वडा नं. ५ का ७० वर्ष माथिका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, विधवा, अपांगता भएका व्यक्ति, लोपोन्मुख बालबालिका, दलित बालबालिका र लोपोन्मुख जाति गरि ५ सय ३० जनाले सामाजिक सुरक्षा भत्ता लिदैं आएका छन । उनीहरुले राष्ट्रिय बाणिज्य बैंक सिन्धुली शाखाबाट रकम लिदैं आएका छन । उक्त बैंकले कनपा १३ का ३२८ जना र १४ का २८६ जनाको भिमान शाखाबाट भत्ताको रकम भुक्तानी दिदैं आएको छ । वाणिज्य बैंक सिन्धुली शाखाको सामाजिक सुरक्षा तर्फ हेर्ने कर्मचारी राजन खत्रीका अनुसार कार्डमा रकम उल्लेख त गर्नुपर्ने तर भरिएको वा नभरिएकोबारे आफु अस्पष्ट भएको बताए । उनले बैंकको काउन्टरबाट अति अशक्त, जेष्ठ नागरिक लगाएतको विवरण अध्यावधिक गरिने तर सबैको भरे नभरेको आफु जानकार नभएको बताए । उनले गलत विवरण भरिएको बारेमा भने केहि बोल्न चाहेनन । उनले कार्यालय प्रमुख लालबहादुर थोकरको मोवाईल नम्बर दिएर पन्छिए । यता बैंकका प्रवन्धक लाल बहादुर थोकरले भने फोन नै उठाएनन ।
अभिलेख राख्ने को हो त ?
अभिलेख कसले राख्ने अर्थात सामाजिक सुरक्षा भत्ता दिएको चुस्त तुरुस्त विवरण लाभग्राहिले कसरी पाउने त ? यो विषयमा भने वडा कार्यालय, कमलामाई नगरपालिका र बैंक नै अन्यौलमा छन । सामाजिक सुरक्षा नियमावली २०७६ मा भने यस्को चुस्त विवरण राख्ने र लाभग्राहिको कार्डमा समेत भर्ने जिम्मा वडा कार्यालयको हुने उल्लेख गरिएको छ । वडा कार्यालयले उक्त कार्डमा लाभग्राहिले पाउनुपर्ने रकम उल्लेख गरिदिनुपर्ने हुन्छ ।
वडा कार्यालयले भत्ता पाउनेको सबै विवरण प्रतिवेदन तयार गरि सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्छ । तल माथी वा फरक फरक विवरण भर्ने अधिकार कुनै निकायलाई हुदैन । सामाजिक सुरक्षा भत्ताका बारेमा आएका समस्याको छानविन गर्ने अधिकार वडाअध्यक्ष, सदस्य र कर्मचारीलाई हुन्छ र छानविनको विवरण नगरपालिकामा पठाउनुपर्छ ।
यस्तै नयाँलाई भत्ताको लागि सिफारिस गर्ने, उनीहरुको कार्ड नविकरण गर्ने र विवरण अध्यावधिक गर्ने अधिकार पनि वडा कार्यालयलाई हुन्छ । नगरपालिकाले वडाले अध्यावधिक गरेको विवरण अनुसार व्यवस्थित अभिलेख राख्ने, बैंकलाई रकम पठाउने र त्यसको विवरण तथा प्रमाण सुरक्षित गर्ने काम गर्छ । स्थानीय तहमा भएको अभिलेख अनुसार वडाले भत्ता वितरणको काम अगाडि बढाउने हो । सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १२ को उपनियम ४ मा ‘वडा कार्यालयले भत्ता वितरण गरेपछि सोको विवरण परिचय पत्रमा जनाउनु पर्नेछ र त्यसरी भत्ता वितरण गरेको चौमासिक विवरण तयार गरि स्थानीय तहमा पठाउनुपर्नेछ’ भनि स्पष्ट व्यवस्था गरेको छ ।
कारवाहि के हुन्छ ?
सामाजिक सुरक्षा भत्ताको अभिलेखिकरण चुस्त दुरुस्त नगरिएको र लाभग्राहीको कार्डमा फरक फरक विवरण लेखिएको वा लाभग्राही बाहेकले भत्ता लिएको लगाएतका विषयमा सम्बन्धित न्यायीक समितिमा उजुरी दिन सकिन्छ तर कमलामाई नगरपालिकाको न्यायीक समितिमा हालसम्म कुनै पनि उजुरी परेको देखिदैन । सामाजिक सुरक्षा भत्तासँग सम्बन्धित सबै उजुरीहरु न्यायीक समितिमा दिन सकिने कानुनी व्यवस्था छ । न्यायीक समितिका संयोजक मञ्जु देवकोटाले आफु कहाँ उजुरी नआएको र कहाँ के भएको रहेछ त्यो बारेमा बुझ्ने जानकारी दिईन । मातहत कार्यालयबाट भएको कमजोरीलाई सुधार गर्न आफ्नो पहल हुने उनले बताईन । न्यायीक समितिमा उजुरी परेमा समितिले वडा कार्यालयलाई के भएको हो जाँचबुझ गर्न आदेश दिन सक्छ । आदेश पाएको १५ दिन भित्र वडा कार्यालयले प्रतिवेदन पेश गर्नुपर्छ । जसको विरुद्ध उजुरी परेको हो सो व्यक्तिलाई लिखित जवाफ पेश गर्ने मौका भने दिनुपर्छ ।
यस्तो छ सामाजिक सुरक्षाको दर
आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा नेपाल सरकारले जेष्ठ नागरिक बाहेकको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि ग¥यो । जेष्ठ नागरिकको भत्ता १ हजारको दरले वृद्धि ग¥यो । बजेटलाई कार्यान्वयन गर्न राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागले २०७८ भदौ २२ गतेदेखि उक्त दररेट कार्यान्वयनमा ल्यायो र सबै स्थानीय तहलाई पत्राचार ग¥यो ।
जस अनुसार ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको ४ हजार, ६० वर्ष उमेर पुगेका साविक कर्णाली जिल्लाका नागरिक र ६० वर्ष उमेर पुगेका दलित नागरिकको २ हजार २ सय ६०, एकल महिला, विधुवा महिलाको २ हजार २ सय ६० रुपैंया, पूर्ण अपांगता भएका नागरिकको ३ हजार ९ सय ९०, अति अशक्त अपांगता भएका नागरिकको २ हजार १ सय २८ रुपैंया, लोपोन्मुख आदिवासी जनजातीको ३ हजार ९ सय ९० र बालबालिकाको ५ सय ३२ रुपैंया कायम भयो र सोहि अनुसार सामाजिक सुरक्षा भत्ता सबै स्थानीय तहबाट वितरण हुदै आएको छ ।
कमलामाई नगरपालिकाका सामाजिक सुरक्षा शाखाका एमआईएस अपरेटर श्रेष्ठले बैंकले खुद्रा पैसा व्यवस्थापन गर्न समस्या भएकाले कहिले थोरै कहिले धेरै गरेर पैसा दिने गरेको बताए । कमलामाई नगरपालिकामा मात्रै विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता खाने नागरिक ७ हजार २ सय ३ जना रहेका छन ।
























