सिन्धुली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले सरकारले स्थानीय तहको चुनाव घोषणा गर्न ढिलाइ गरेको विरोधमा जिल्लाका क्याम्पसका गेटहरुमा कालो व्यानर राखेको छ ।
समयमा चुनाव घोषणा नगरेको भन्दै स्थानीय तहको निर्वाचन तत्काल गर, संविधान र लोकतन्त्रको रक्षा गर भन्ने नारा लेखिएका व्यानर गेटमा राखिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुका जिल्ला सहसचिव लोकेन्द्र बोगटीका अनुसार सोमबार सिन्धुली बहुमुखी क्याम्पस, शिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटार र गौमती बहुमुखी क्याम्पस लगाएतका क्याम्पसका गेटमा कालो व्यानर राखिएको हो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुदैछ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिना अगाडि गरिसक्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन ऐनको दफा ४ (४) ले थप अलग–अलग मितिमा निर्वाचन भएकोमा समेत पहिलो पटक तोकिएको मितिलाई निर्वाचन मिति मानिने व्यवस्था गरेको छ ।




















