सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले समयमा नै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेको छ । अखिल नेपाल महिला संघका सचिव पार्वती भट्टराईको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई समयमा निर्वाचन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत अनेमसंघले देशभर ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई यथासिघ्र निर्वाचन गराउन र संविधान र लोकतन्त्रको रक्षा गर्न माग गरेको हो ।
‘लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र जनताको अभिमत नै हो । संविधान विपरित वदनियतपूर्ण तरिकाले निर्वाचन नगराउनु र विभिन्न बहानाबाजी गरि रहनु संबैधानिक सर्वोच्चता र विधिको शासनलाई कुल्चनु हो ।’ ज्ञापनपत्रमा भनिएको छ ।
संघले ज्ञापनपत्रमार्फत दैनिक उपभोग्य सामग्रीमा भएको मुल्यवृद्धि घटाउन र बलत्कार तथा लैंगिक हिंसाका घटनाका पीडकलाई कारवाहि, पीडितलाई न्याय र क्षतीपूर्ति दिन समेत सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र अनेमसंघ सिन्धुलीका सचिव पार्वती भट्टराईले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई बुझाएकी हुन । प्रमुख जिल्ला अधिकारी न्यौपानेले ज्ञापनपत्र बुझ्दै तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।




















