सिन्धुली । एकसय उनन्तीस वर्ष जेल सजाय तोकिएका फरार व्यक्तिलाई सिन्धुलीको तीनपाटनबाट प्रहरीले पक्राउ गरेको छ । सोमबार तीनपाटन गाउँपालिका ३ का मगर कान्छा भनिने मेष बहादुर थापा मगरलाई प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोज कुमार लामाले बताए ।
चोरी तथा डकैंती मुद्दामा तनहुँ अदालतले एक सय २९ वर्ष सात महिना १५ दिन जेल सजाय तथा १४ लाख ८३ हजार तीन सय जरिवाना तोकेका मगर पक्राउ परेका हुन ।
छ वटा जवरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दामा मगरलाई २०७१ वैशाख १७ गते र २०७२ जेठ ४ गते तनहुँ जिल्ला अदालतले उक्त सजाय तथा जरिवाना तोकेको थियो ।
उक्त फैसलाको लगत सिन्धुली जिल्ला अदालतमा रहेको थियो । पक्राउ परेका मगरलाई सोमबार नै सिन्धुली जिल्ला अदालतमा पेश गरिएको डिएसपी लामाले बताए ।




















