सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीमा नयाँ सुविधासम्पन्न एम्बुलेन्स आएको छ । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न ख श्रेणीको एम्बुलेन्स आएको हो ।
उक्त एम्बुलेन्स खरिद गर्न नगरपालिकाले १५ लाख ८ हजार २ सय १ रुपैंया अनुदान दिएको थियो । उक्त एम्बुलेन्स नगरपालिकाका मेयर खड्ग खत्री, उपमेयर मञ्जु देवकोटा लगाएतको टिमले रेडक्रस जिल्ला शाखालाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन ।
बाग्मति प्रदेश ०–१–०२५च९८०१ नम्बरको उक्त एम्बुलेन्सको चावी रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले पाएका छन । जिल्लामा रेडक्रसले नै १९ वटा एम्बुलेन्स, १ शव वाहन सञ्चालन गरिरहेको भए पनि सुविधा सम्पन्न एम्बुलेन्स थिएन ।
यस्तै बाग्मति प्रदेश सरकारले सिन्धुली अस्पताललाई दिएको एक ख श्रेणीको एम्बुलेन्स भने अस्पताल मातहतमा चलिरहेको छ । उक्त एम्बुलेन्स प्राप्त भएसँगै अत्यन्त जोखिममा रहेका विरामीलाई स्वास्थ्य सुविधा सहित अस्पतालमा पु¥याउन र मृत्युलाई कम गर्न सघाउ पुग्ने रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले विश्वास व्यक्त गरेका छन ।




















