सिन्धुली । जिल्लामा खोप केन्द्र स्थापनाका लागि आएको बजेट आर्थिक वर्षको अन्तिममा आएर कार्यान्वयनमा गएको छ । जेठको मध्यसम्म स्थानीय पालिकाहरुबाट ठाउँ छनौट नभईसकेको र कोभिडले समेत समस्या पारेका कारण ढिलो निर्माण सुरु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
बाग्मति प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत आएको बजेट कार्यान्वयनमा कोभिडको दोस्रो लहरको असर परेको र समयमा स्थान छनौट नहुदा समस्या भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
शाहका अनुसार जिल्लाका खोपको पहुँच बाहिर रहेका र अस्थायी खोप केन्द्र रहेका १४ स्थानका लागि भवन निर्माणका लागि बजेट आएको थियो । स्थायी खोप केन्द्र निर्माणका लागि आएको उक्त बजेटबाट २ कोठे भवन बनाउनुपर्ने छ । जसको काम निर्माणको कामको जिम्मा लिएका ठेकेदार कम्पनीले सुरु गरिसकेको उनले बताए । उक्त रकम अति सीमान्तकृत लोपोन्मुख जातीको बसोबास रहेका र स्वास्थ्य संस्थाको पहुँच नभएका वस्तीमा मातृ तथा बाल स्वास्थ्य सेवाको पहुँचका लागि गाउँघर क्लिनिक बाह्य खोप केन्द्र निर्माणको लागि सरकारबाट आएको विशेष अनुदान हो ।
स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालन गरिने नवजात शिशु, मातृ मृत्युदर घटाउनका गरिने कार्यक्रम अनुसार जिल्लाका कमलामाई नगरपालिकामा २ खोप केन्द्र, दुधौली नगरपालिकामा २, तीनपाटन गाउँपालिकामा १ र फिक्कलमा २ वटा खोप केन्द्र निर्माणको लागि बजेट तोकिएर नै आएको थियो ।
त्यसै गरी घ्याङलेख गाउँपालिकामा ३, सुनकोसीमा १, मरिण गाउँपालिकामा २ र हरिहरपुरगढी गाउँपालिकामा १ वटा गरी जिल्लाभर १४ खोप केन्द्र निर्माणको लागि ५ लाख रुपैयाँको दरले ७० लाख बजेट आएको थियो ।
जिल्लामा हाल २ सय ५ खोप केन्द्र सञ्चालनमा रहेका छन । ती खोपकेन्द्र मध्ये केहि खोप केन्द्र अस्थायी रुपमा चोक चौताराहरुमा चल्दै आएका थिए ।




















