सिन्धुली । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बाग्मति सभामा बजेट प्रस्तुत गर्दै चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पूँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार बजेट विनियोजन गरेको उल्लेख गरेका छन ।
ढुंगेलले वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको उल्लेख गरेका छन । कुल बजेट विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको बजेट रहेको उनले बताए ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६५ प्रतिशत अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको राजस्व नीति तथा करका दरहरु निर्धारण गर्दा कोभिड–१९ महामारीले मानव जीवनमा पारेको प्रभाव र यसको रोकथाम र नियन्त्रणको प्रयासबाट आर्थिक क्षेत्रमा पारेको संकटलाई मध्यनजर गरी करदाता तथा सेवाग्राहीलाई राहत एवम् सहुलियत सहित आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्री ढुंगेलले उल्लेख गरेका छन ।





















