सिन्धुली । जिल्लामा बुधबारदेखि तीन घण्टा सबै पसल खुला भएका छन भने फलफुल तरकारी र दुधजन्य पदार्थको कारोवार गर्ने पसलहरु दिनभरी नै खुल्न थालेका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले लकडाउनलाई केहि खुकुलो बनाएपछि बुधबार विहान सबै पसलहरु खुलेका हुन ।
मंगलबार जिल्लाभर ६ दिन लकडाउनलाई थप गर्दै केहि खुकुलो बनाईएको थियो । स्वास्थ्यका मापदण्ड पालना गरि ३ घण्टा पसल खोल्न दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गर्दै जनाएको थियो ।
सूचना अनुसार जिल्लामा रहेका व्युटिपार्लर, जिमखाना, होटल रेस्टुरेन्ट, फुटपाथ पसल, शैक्षिक संस्था, पार्टी प्यालेस, उद्योग कलकारखाना बन्द रहने भनिए पनि बुधबार विहान सिन्धुलीमाढीमा अत्यधिक फुटपाथ पसल चलेका थिए ।
प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै स्टेशनरी, कपडा पसल, सुनचाँदी पसल, जुत्ता चप्पल र निर्माण सामग्री पसल ३ घण्टा खोल्न अनुमति दिएको थियो । सिन्धुलीमाढीमा रहेका अधिकांश पसल चले । यस्तै सवारी साधन चल्न रोक लगाईएको भए पनि साना सवारी साधन प्रसस्तै चलेका छन । चल्न नपाउने भनिएका ट्याम्पो, निजी सवारी लगाएतका सवारीहरु चलेका हुन । यस्ता सवारीहरु दिनभर नै चलेका छन ।
पसलहरु खुलेसँगै जिल्लामा मानिसको आवत जावत समेत बढेको छ । कोरोना संक्रमण दर बढीरहेका बेला प्रशासनले भने लकडाउनलाई खुकुलो बनाएको हो । जिल्लामा दोस्रो लहरको कोरोनाका कारण १ हजार ८ सय ४१ जना संक्रमित भएका छन भने १ हजार ३ सय २६ जना होम आइसोलेसन र १९ जनाले संस्थागत आइसोलेसनमा उपचार गराईरहेका छन । यस्तै २८ जनाको मृत्यु भईसकेको छ । संक्रमण दर पनि घटेको छैन ।





















