सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ की सुनिता श्रेष्ठलाई कमलामाई नगरपालिकाले अध्ययनका लागि ५ लाख विना धितो ऋण प्रदान गरेको छ । चार्टर्ड एकाउन्टेन (सिए) पढ्न थालेकी श्रेष्ठलाई अध्ययन पुरा गर्न रकम अभाव भएपछि नगरपालिकाले विना धितो ऋण दिएको हो ।
बुधबार कमलामाई नगरपालिकाले पहिलो पटक उक्त ऋण प्रदान गरेको हो । उनले प्लस टु माइलस्टोन कलेजबाट उत्तीर्ण गरेकी थिइन । मध्यम आर्थिक अवस्थाका कारण पढ्ने इच्छा पुरा गर्न परिवारले नसकेपछि उनले विना धितोको ऋण लिएकी हुन ।
काठमाडौंको प्राइम सिएबाट उनले पहिलो सेसन उत्तीर्ण गरिसकेकी छिन् । अब बाँकी पढाईका लागि सुनितालाई खर्च जोहो गर्ने समस्या भएको थियो । कमलामाई नगरपालिकाले विना धितोको ऋण दिने कार्यक्रम थाहा पाएपछि उनले नगरपालिकामा निवेदन दिएकी थिइन ।
सोही निवेदनका आधारमा उनलाई उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले ५ लाख विना धितो, विना ब्याज ऋण दिने निर्णय गरेको सूचना अधिकारी निर्मल लामाले बताए ।
नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र सुनिता बीच ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ भने नगरप्रमुख खत्रीले सुनितालाई चेक हस्तान्तरण गरेका छन ।





















