सिन्धुली । मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि संकलित घटनाको अर्धवार्षिक समिक्षा कार्यक्रम शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रममा कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले महिला हिंसा नियन्त्रणका लागि नगरको तर्फबाट रणनीतिक कार्ययोजना सहित कार्यक्रम बनाएर अघि बढ्ने बताईन । कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले आफ्नो स्थानीय तहमा मानवअधिकार उलंघनको अवस्थाको विश्लेषण गरि काम गर्नुपर्नेमा जोड दिईन । उनले स्थानीय तहको आवश्यकता अनुसार नीति तथा कार्यक्रम बनाउन जरुरी रहेको बताईन । उनले व्यक्ति, परिवार र समाजको सभ्यता विकास भएमा मानवअधिकार हनन् तथा उलंघनका घटनामा कमी आउने बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले जिल्लामा जघन्य मानवअधिकार उलंघनका घटनाहरुको संख्यामा कमी आए पनि अन्य घटनाक्रमहरु बढेको पाईएकाले अझ जागरण तथा सचेतिकरण आवश्यक रहेको बताए । उनले गाउँ गाउँमा कानुनी शिक्षा दिन सकेमा यस्ता मानवअधिकार सम्बन्धि घटनामा कमी आउने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला स्तरीय मानवअधिकार सञ्जालका सदस्य सविता कोइरालाले शक्तिहिन भएका कारण महिला र बालबालिका माथि मानवअधिकार विरोधी क्रियाकलाप भएको बताईन । उनले इन्सेकको प्रतिवेदनले हरेक दिन महिलालाई घरमै भुकम्प आए बराबरको जीवन बाँच्नु परेको देखाएको बताईन । यस विषयमा राज्यका निकाय संवेदनशिल हुनुपर्नेमा कोइरालाले जोड दिइन ।
कार्यक्रममा बोल्दै प्लान नेपाल सिन्धुलीका प्रमुख राम बहादुर श्रेष्ठले मानवअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था र राज्यका जिम्मेवार निकायले जोखिम उठाउन तयार नभएमा द्धन्द्ध र दण्डहिनतामा कमी नआउने दावी गरे ।
जेष्ठ नागरिक तथा समाजसेवी राम बहादुर हायुको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले अर्धवार्षिक प्रतिवेदन पेश गरेकी थिइन भने कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य गंगा कार्की, इन्स्पेक्टर श्याम कृष्ण केसि, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि कृष्ण प्रसाद पौडेल, सिन्धुली जिल्ला अदालतका प्रतिनिधि झविन्द्र गैरे तथा जिल्लाका मानवअधिकारकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा ६ महिनाको अवधीमा भएका मानवअधिकार विरोधी ६९ वटा घटनाहरु सार्वजनिक गरिएको छ । जसमा सबैभन्दा बढी घरेलु हिंसाका ५१ वटा घटना भएका छन । यस अवधीमा हत्या ४, बालिका बलात्कारका २, बलात्कार प्रयास ३, महिला बलात्कार १, बलात्कारको प्रयास १, बालिका बेचबिखन तथा बलात्कार १, बालिका अपहरण तथा शरीर बन्धक र बलात्कार १, बहुविवाहका ३ र बालविवाहका २ घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।






















