सिन्धुली, १२ असार । लागु पदार्थ दुव्र्यसनी न्युनिकरण सम्वन्धी एक दिने विद्यार्थीहरुलाई अभिमूखिकरण कार्यक्रम मंगलबार गौमती मावि माढीबजार सिन्धुलीमा सम्पन्न भएको छ । जिल्ला युवा समिति सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा सोही विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिद्धज्योति शिक्षा क्याम्पस सिन्धुलीका उप–प्राध्यापक नानीबाबु घिमिरेले लागु पदार्थ दुव्र्यसनी तथा लागु पदार्थ तथा लागु औषधको प्रयोगवाट हुने वेफाइदा र त्यसले युवावर्ग तथा समाजमा पार्ने असरका वारेमा स्लाईड मार्फत प्रस्तुती करण गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी केदार गिरिले मंगलबार सम्पन्न अन्तराष्ट्रिय लागु पदार्थ दिवसको सन्दर्भमा चर्चा गर्दै यस्ता कार्यक्रम वर्षमा एक पटक गरेर नपुग्ने बताए । उनले अभिमूखिकरणमा उपस्थित विद्यार्थी लागू औषध विरुद्धका अभियान्ता भएर सबैलाई सचेत गराई नेपाललाई लागु औषध रहित राष्ट्र बनाउन सहयोग गर्नुपर्ने बताए ।
जिल्ला युवा परिषदका अध्यक्ष सञ्जय कुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उनले देशको वागडोर लिने भोलीका कर्णधार पनि अहिलेका स्कुले विद्यार्थी भएका कारण यस्ता कुलतवाट जोगिनु र अरुलाई पनि लाग्न नदिन सचेत गराउनु उनीहरुको दायित्व भएको बताए ।
कार्यक्रममा उपस्थित लाई विद्यालयका प्रधानाध्यापक दिल बहादुर केसीले स्वागत गर्दै युवा वर्गले यस्ता कुलतवाट आफु वचेर अरुमा चेतना जगाउनु पर्ने वताए ।






















