सिन्धुली । जिल्लाका दुई स्थानीय तहका तीनजना जनप्रतिनिधिले आफुले चढ्ने सवारी साधनलाई कोभिडका विरामी बोक्न प्रयोग गर्ने भएका छन । उनीहरुले जनतालाई अप्ठ्यारो परेका बेलामा आफुहरु सवारी चढेर हिड्न नैतिकताले नदिने भन्दै नागरिकको जीवन वचाउन प्रयोग गरिने जनाएका छन ।
घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष दुर्गा सुनुवार र तिनपाटन गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले आफुहरु चढेका सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन ।
घ्याङलेख गाउँपालिकाका दुईवटै गाडी कोरोना संक्रमितको उपचारार्थ ओसारपसार तथा एम्बुलेन्स सेवाको लागि प्रदान गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले बताए । अध्यक्ष भोलन र उपाध्यक्ष सुनुवारले भिडियो सार्वजनिक गर्दै यस्तो जनाएका हुन ।
उनीहरुले सार्वजनिक यातायात बन्द रहेको अवस्थामा संक्रमितको अस्पतालसम्म पहुँच पु¥याउन महामारीको अवधिभर आफुहरुले गाडी प्रयोग नगर्ने र विरामीको सेवामा प्रयोग गर्ने बताए । घ्याङ्लेख गाउँपालिकाको मातहतमा एक वटा मात्र एम्बुलेन्स रहेको छ ।
यस्तै तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउने भएकी छिन ।

उनले शनिबार स्वास्थ्य शाखालाई उक्त गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न लिखित रुपमै हस्तान्तरण गरेकी हुन । शनिबार उनले प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखालाई हस्तान्तरण गरिन । उपाध्यक्ष तामाङले आफू चढ्दै आएको बा२झ४१६३ नम्बरको डबल क्याब बोलेरो गाडीको चाबी स्वास्थ्य शाखाका प्रमुख इन्द्रप्रसाद दुलाललाई हस्तान्तरण गरेकी हुन ।
कोरोना महामारीको विकराल रूप नहट्दासम्म वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपाध्यक्ष तामाङले बताइन् । संक्रमितलाई अरु सवारी साधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपु¥याउँदा समस्या बढ्दै गएको पाइएकोले यस्तो निर्णय गरिएको तामाङले बताईन । यो गाउँपालिकाको मातहतमा दुई वटा एम्बुलेन्स रहेका छन । तिनपाटन गाउँपालिकामा अत्यधिक कोरोना संक्रमित बढेका छन भने २ जनाले ज्यान गुमाईसकेका छन ।





















