सिन्धुली । चार वर्ष अघि नै कार्यान्वयन सहमति भएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बुहउद्देश्यीय आयोजना विहिबार कमलामाई नगरपालिका २ कुसुमटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको छ । उनकै सक्रियतामा उक्त आयोजनाको काम चार वर्ष अघि अर्थात २०७३÷०७४ मा योजनाको काम सुरुवात गरिएको थियो ।
मुआब्जाको वितरण सकेर आयोजना निर्माणको काम सुरु गर्ने गरि आयोजनाको शिलान्यास गरिएको हो । यो आयोजना समयमा नै सम्पन्न हुनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त देखिनु भएको छ ।
यो आयोजना तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरि सुरु गरिएको हो । सुनकोशीको पानी मरिण खोला हुदै बाग्मतिमा मिसाएर तराईका भुभाग सिंचित गर्न यो आयोजना निर्माण सुरु गरिएको छ ।
३१ मेघावाट विद्युत निकाल्ने यो आयोजनाको अर्को मुख्य लक्ष्य रहेको छ । यो आयोजना खुर्कोट देखि २ किलोमिटर माथि बाँध बनाई १३.३ किलोमिटर सुरुङबाट मरिणमा पानी खसाली विद्युत निकालिने र बगेको पानी बाग्मतिमा मिसाई सिंचाई नहर बनाएर तराईमा सिंचाई गर्ने सरकारको योजना रहेको छ ।
आयोजनाका अनुसार यो आयोजनाबाट निस्केको विद्युतलाई ४४ किलोमिटर लामो विद्युत प्रसारण लाईन बनाईने भएको छ । यो आयोजनाले विशेष गरि धनुषा, महोत्तरी, सर्लाहि, रौतहट र वारा जिल्लाका भूमि सिंचित गर्ने लक्ष्य लिएको छ ।
यस्तै आयोजनाले मरिण र वाग्मति नदीमा तटबन्ध निर्माण, डुवान र पावर हाउस क्षेत्रमा सडक, सिंचाई कुलो, लिफ्ट सिंचाई, खानेपानी सुविधा तथा अन्य रोजगारीका अवसर समेत सृजना गर्ने आयोजनाले जनाएको छ ।
आयोजनाका कारण सिन्धुलीका १४५ घर र रामेछापका ३९१ जना जग्गाधनी प्रभावित हुने भएका छन । आयोजनाले ती प्रभावितहरुलाई मुआब्जा दिने काम गरिरहेको छ ।





















