सिन्धुली । नेकपा प्रचण्ड माधव नेपाल समूहले विहिबारका लागि घोषणा गरेको आम हड्तालको सिन्धुलीका व्यवसायीहरुले विरोध गरेका छन । उद्योगा वाणिज्य संघ सिन्धुलीले यसको सार्वजनिक रुपमै विरोध गरेको हो ।
संघले आफ्नो आधिकारिक फेसबुकमा सूचना जारी गर्दै बन्दको विरोध गरेको हो । संघले कोभिडका कारण थलिएको अर्थतन्त्र चलायमान बनाउन सबैको दायित्व र जिम्मेवारी भएकाले बन्द हड्ताल प्रति असमति भएको जनाएको छ ।
संघले भनेको छ, ‘कोभिड १९ ले थलिएको अर्थतन्त्र चलाए मान बनाउन हामी सबैको दायीत्व र जिम्मेवारी हो । अतः भरखरै खुल्दै गरेको व्यापार, व्यवसाय, उद्योगहरुलाई नियमित खुल्ला राखी कारोबार गर्ने वातावरण बनाउन सबै पक्षलाई अनुरोध गर्दै जुनसुकै दल समूहले गर्ने बन्द हडतालप्रति हाम्रो असहमति छ ।’
संघले माघ २२ गतेको बन्द हडताल फिर्ता लिन सम्बद्ध राजनीति पार्टीलाई अनुरोध समेत गरेको छ । यसैबीच सिन्धुलीका व्यवसायीहरुले बन्दलाई अवज्ञा गर्न र नियमित व्यवसाय सञ्चालन गर्न सामाजिक सञ्जाल मार्फत अपिल गरिरहेका छन ।





















