सिन्धुली । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सिन्धुलीमा संस्थागत मात्र नभई व्यवसायीक सम्बन्ध जोड्ने बताएका छन ।
मंगलबार सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले महासंघको नेतृत्व पछाडि पनि सम्बन्ध रहिरहने गरि व्यवसायीक सहकार्य गरिने बताए ।
उनले जिल्लामा औद्योगिक सम्भावनालाई मध्येनजर गरि लगानी गर्ने प्रतिवद्धता जनाएका हुन । उनले भने, ‘संस्थागत सम्बन्ध पद सकिएपछि सकिन्छ, सिन्धुलीमा सम्बन्ध राखिराख्न जिल्लाका व्यवसायीसँग व्यवसायीक सहकार्य गर्नेछु ।’
सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदारले जिल्लामा औधोगिक सम्भावनाको अध्ययन गरि नीजि लगानी भित्राउन अनुरोध गरेका थिए । सम्पूर्ण व्यवसायीको तर्फबाट उनले आईएमई ग्रुपसँग व्यवसायीक सहकार्यका लागि अनुरोध समेत गरेका थिए ।
उनले सिद्धवावा केवुलकार, सिन्धुलीगढीमा पर्यटकीय क्षेत्र विस्तार, जुनारको जुस उद्योग सञ्चालन लगाएतका क्षेत्रमा सहकार्यका लागि अनुरोध गरेका थिए । वैदारले जिल्लामा औधोगिक विकासको सम्भावना रहेको बताउँदै औधोगिक लगानीका लागि महासंघ र आईएमई ग्रुपलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका निवर्तमान अध्यक्ष विनेश कुमार श्रेष्ठले महासंघ र उद्योग वाणिज्य संघको सामाजिक सक्रियतामा कमी आईरहेको बताउँदै त्यसलाई सक्रिय बनाउन भूमिका खेल्न आग्रह समेत गरेका थिए ।






















