सिन्धुली । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले ऐतिहासिक सिन्धुलीगढी युद्धमा प्रयोग भएका आफुसँग रहेका घरेलु हातहतियार नेपाली सेनालाई हस्तान्तरण गरेका छन । उनले ९ नं. बाहिनीका बाहिनीपति ध्रुव शाहलाई हतियार हस्तान्तरण गरेका हुन । मेयर खत्रीले आफ्नो घरमा रहेको भाले खुँडा र तरवार हस्तान्तरण गरेका हुन ।
उनले आइतबार विहान आफ्नै निवास कमलामाई नगरपालिका वडा नं. ६ पानीट्यांकीमा उक्त हतियारका साथै तत्कालिन भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा समाजसेवी हरि थापाले दिएको भाले खँुडा समेत हस्तान्तरण गरेका हुन ।
सिन्धुलीगढीमा नेपाली सेनाले युद्ध संग्राहलय निर्माण गरिरहेको छ । करीब चार करोड लागतमा निर्माणाधिन संग्राहलयको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिकाले उक्त संग्राहलयमा राख्नका लागि १८२४ मा गोर्खाली सेनाले अंग्रेजसँगको युद्धमा प्रयोग भएका घरेलु हतियार खोजी गरिरहेको छ ।
आफ्ना हजुरबुबा सिन्धुलीगढीको राइटर भएर आउनु भएको बेलामा उहाँले प्रयोग गरेको हतियार हस्तान्तरण गरेको मेयर खत्रीले बताए । हतियार हस्तान्तरण गर्दै खत्रीले नगरपालिकाले हतियार संकलन गर्ने काम नगरपालिकाले गरिरहेको र नदिने व्यक्तिको हकमा किन्न समेत नगरपालिका तयार रहेको बताए । उनले ती हतियार कसबाट लिएको समेत खुलाई संग्राहलयमा राख्ने व्यवस्था मिलाइने छ ।
त्यसैगरी ९ नं. बहिनीका बाहिनीपती सहायक रथी धुव्र शाहले सिन्धुलीगढी युद्ध संग्राहलय निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले ‘युद्ध संग्रालय निर्माणसँगै मुख्य चुनौतिको रुपमा रहेको तत्कालीन युद्धको समयमा प्रयोग भएको हतियारहरु र युद्धसँग सम्बन्धित सामग्रीहरु संकलन कार्य रहेको बताए ।
हालसम्म युद्धकालिन समयमा प्रयोग भएका ७ थान खुँडा, खुकुरी र १ थान धनुष वाण संकलन गरेको समेत शाहले बताए । सिन्धुलीगढीका ज्ञाता एवम् कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालका अनुसार सिन्धुलीगढी युद्धमा खुकुरी, खुँडा, घुएत्राइ धनुकाँडहरु, ढाल, तरवार लगाएतका हतियारको प्रयोग भएको पाइन्छ । तत्कालिन युद्धमा प्रयोग भएका सामग्रीहरु खोजी भइरहेका छन् । नगरपालिकाले खोजेका कतिपय हतियारहरु सांस्कृतिक, धार्मिक विश्वासका कारण दिन मानिरहेका छैनन ।
हतियारहरु शक्ति पूजा, कुल पूजा गरि राखेका पाइन्छन । कतिले तीनपुस्ते नाम सहित जतन साथ संग्राहलयमा राख्छौं भनेपछि दिएका छन भने कतिपयले आस्थाका कारण दिएका छैनन । नगरपालिकाले किनेर भए पनि लिने र संग्राहलयमा राख्ने प्रयास गरेको उनले बताए ।






















